सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारी खुसी

वीरगञ्ज । मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगन्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ । कोभिड–१९ को असहज स्थितिका कारण अत्यावश्यकबाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन् । यही असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय कार्यान्वयनमा आएसँगै व्यापारीमा खुसी छाएको हो ।
भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसाय क्षेत्र फस्टाउनेमा आशा पलाएको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडियाले जानकारी दिनुभयो । कोभिड–१९ का कारण लामो समयदेखि नेपाल र भारत दुवै देशमा व्यावसायिक कारोबार प्रभावित बनेका थिए ।
रक्सौल नाकाबाट भारतीय निजी सवारी साधनले नेपालमा आवागमन पाएपछि दुवै देशका व्यवसायी थप उत्साही बनेको होटेल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो । सवारी साधन आवतजावतले दुई देशबिचको सम्बन्ध थप बलियो बन्दै जाने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो
स्रोत नखुलेको रकमसहित तीन पक्राउ
भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीन जनालाई शुक्रवार पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश पटेल र पर्साको धोबिनी गाउँपालिका–३ निवासी २३ वर्षीय बलिराम पटेल रहेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पर्साको छपकैया–सिर्सिया नाकाबाट तीन मोटरसाइकलमा सवार भई नेपालतर्फ आउँदै गरेको अवस्थामा नगदसहित उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई बैङ्क तथा वित्तीय ऐनसम्बन्धी कसुरअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ । उनीहरू हुन्डी कारोबारमा संलग्न व्यक्ति रहेको प्रहरीको अनुमान छ । साथै उनीहरू सवार ना६०प ५९९८, ना४१प १०४८ र ना६४प ८३५९ नम्बरका तीन मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्