पार्टीलाई नयाँ शिराबाट अघि बढाइन्छः अध्यक्ष प्रचण्ड
कास्की । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताउनुभएको छ ।
पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक एकता बलियो बनाउँदै पुनः देशको पहिलो पार्टी बनाउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
माओवादी जहिले पनि उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका पक्षमा रहेकाले माओवादीको तुलना अन्य पार्टीसँग हुन नसक्ने भनाइ अध्यक्ष दाहालको छ ।
जनताले एमसीसी नरुचाएको भन्दै यथास्थितिमा पारित हुने अवस्था नरहेको र यसलाई पुनः परिभाषित गर्नुपर्ने पक्षमा माओवादी रहेको उहाँले उल्लेख गर्नुभयो ।
पार्टी स्थायी समितिका सदस्य नारायणकाजी श्रेष्ठले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्दा जित सुनिश्चित हुने बताउनुभयो ।
पार्टी प्रदेश समितिका संयोजक एवं प्रतिनिधिसभा सदस्य हरि अधिकारी (कुमार)ले गण्डकी प्रदेशका ११ वटै जिल्लामा पार्टी सदस्यता नवीकरण लगायतका सङ्गठनात्मक गतिविधि अघि बढाइएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्