‘प्रसारण लाइनको अभावमा विद्युत् खपत बढाउन सकिएन’
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताउनुभएको छ ।
हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर पुग्नुभएका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत् खपत बढाउन नसकेको बताउनुभयो ।
चितवनको भरपुरबाट पश्चिम १३२ केभीको सिङ्गल सर्किटबाट ९० मेगावाट मात्रै विद्युत् पठाउन सकिएको भन्दै निर्माणाधीन २२० केभी प्रसारण लाइन सम्पन्न भए करिब पाँच सय मेगावाट विद्युत् बुटवलसम्म पुर्याउन सकिने उहाँको भनाइ छ ।
नवलपुर, परासी, बुटवल क्षेत्रमा उद्योगले विद्युत् धेरै माग गरिरहेको तर प्रसारण लाइनको अभावका कारण समस्या भएको उहाँले बताउनुभयो । निर्देशक घिसिङले बुटवलसहित भैरहवा र नेपालगन्जसम्म विद्युत् लोड बढाउन आफूहरू लागि परेको बताउँदै यसका लागि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन चाँडै सम्पन्न गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो ।
उहाँले विद्युत्को खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई बढाउँदै जानुपर्नेमा जोड दिँदै विद्युतको प्रयोग बढाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गर्न लागिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको नवलपुर क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्