बालबालिकाविरुद्ध हुने सबै हिंसा र विभेदको अन्त्य गर्न राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा र विभेदको अन्त्यका लागि योगदान पुर्याउन सबैलाई आग्रह गर्नुभएको छ ।
नेपाल बाल सङ्गठनले राष्ट्रिय बाल दिवसका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले बालमैत्री समाज निर्माण गरी बालबालिकाको सर्वाङ्गीण विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनुपर्ने बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले कोरोना महामारीका कारण उत्पन्न प्रतिकुल अवस्थामा पढ्ने, खेल्ने तथा नियमित खोप प्राप्त गर्ने जस्ता बालबालिकाका आधारभूत अधिकारहरू सुनिश्चित गर्न समेत सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले नेपालको कूल जनसङ्ख्याको झण्डै ४१ प्रतिशत हिस्सा बालबालिकाको रहेको उल्लेख गर्नुहुँदै उनीहरूको विकास र शिक्षाको अवसर सुनिश्चित गर्न नीति निर्माणका क्रममा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय पौडेलले कानूनी जटिलताका कारण बाल मन्दिर तथा बाल सङ्गठनका नाममा रहेका भौतिक सम्पत्तिको संरक्षण र उपयोगमा कठिनाइ भइरहेको बताउनुहुँदै आवश्यक सहजीकरणको लागि पहल गरिदिन सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल बाल सङ्गठनले राष्ट्रव्यापी रूपमा आयोजना गरेको चित्रकला, बाल नृत्य तथा कविता प्रतियोगितामा प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरूलाई पुरस्कृत गरिएको थियो ।









प्रतिक्रिया राख्नुहोस्