कांग्रेस अधिवेशनमा, माओवादी सङ्गठन विस्तारमा केन्द्रित
बैतडी । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बैतडीमा वडा अधिवेशन सकिएपछि अब नेताहरूको ध्यान पालिका अधिवेशन तर्फ मोडिएको छ । जिल्लाका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको काँग्रेसमा पालिकाहरूमा भने सहमति हुने सम्भावना कम देखिएको छ ।
धेरै जसो पालिकाहरूमा आकाङ्क्षीहरूको सङ्ख्या बढी भएकाले सहमतिमै नेतृत्व चयन हुने सम्भावना कम भएको नेताहरूले बताएका छन् । नेपाली काँग्रेसले महाधिवेशनको कार्यतालिका संशोधन गरेर पालिका अधिवेशन असोज ९ गते गर्ने भएको छ । जिल्लाको पाटन नगरपालिकामा काँग्रेसको नगर सभापतिका लागि ६ जना आकाङ्क्षी देखिएका छन् ।
करनसिंह कठायत, जयसिंह बिष्ट, मानसिंह ऐर, रमेश महरा, उत्तरबहादुर चन्द र मदनमोहन विष्टले सभापति पदका लागि आकाङ्क्षा देखाएको नेपाली काँग्रेसका प्रदेश (क) क्षेत्रका क्षेत्रीय सचिव चक्रबहादुर चन्दले जानकारी दिनुभयो । सभापतिका लागि आकाङ्क्षीहरूको सङ्ख्या बढी भएकाले सहमतिको प्रयास पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।
अब असोज ७ गते क्षेत्रीय प्रतिनिधिहरू सहितको बैठक बसेर सहमतिको प्रयास गरिने बताएका छन् । नगर सभापतिमा आकाङ्क्षा देखाएका आकाङ्क्षीहरूले भने आफूहरू नगर सभापतिका लागि योग्य भएको बताएका छन् । लामो समयदेखि काँग्रेसको क्रियाशील सदस्य रहेकाले काँग्रेसको सङ्गठनलाई बलियो बनाउन आफूहरूको उम्मेदवारी रहेको उनीहरूले बताएका छन् ।
लामो समयदेखि पार्टीमै क्रियाशील रहेको र नेतृत्व लिएर पार्टीलाई अगाडि बढ्ने आफ्नो योजना रहेको नगर सभापतिका आकाङ्क्षी उत्तरबहादुर चन्दले बताउनुभयो । नेपाली काँग्रेसमा युवाहरूको खाँचो रहेकाले आफूले नगर सभापतिमा दाबी गरेको अर्का आकाङ्क्षी मानसिंह ऐरले बताउनुभयो । अहिले सभापतिका लागि आकाङ्क्षी देखिएकाले काँग्रेसलाई बलियो बनाउन आफूहरूको उम्मेदवारी भएको दाबी गरेको छन् ।
माओवादी केन्द्र सङ्गठन विस्तार अभियानमा
नेकपा माओवादी केन्द्रले बैतडीमा सङ्गठन विस्तार अभियान सञ्चालन गरेको छ । नेकपाबाट नेकपा (माओवादी केन्द्र) भइसकेपछि पहिलो पटक जिल्ला भरी पार्टीले सङ्गठन विस्तार अभियान सञ्चालन गरेको हो ।
जिल्लाका १० वटै स्थानीय तह र ८४ वटै वडामा सङ्गठन विस्तार, सदस्यता नवीकरण, कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य कमल बोहराले जानकारी दिनुभयो ।
पार्टीको सङ्गठनलाई चुस्तदुरुस्त बनाउन स्थानीय स्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । पार्टीका तल्ला कमिटीहरूलाई क्रियाशील बनाउन सबै वडामा अभियान सञ्चालन भइरहेको बोहराले जानकारी दिनुभयो । जिल्लाका शीर्ष नेताहरूको सहभागितामा वडाहरूमा सङ्गठन विस्तार अभियान सञ्चालन भइरहेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
भदौ पहिलो सातादेखि सञ्चालन भएको सङ्गठन विस्तार र सुदृढीकरण अभियान असोज २० गतेसम्म जारी रहने माओवादी केन्द्र बैतडीले जनाएको छ । सङ्गठन विस्तार अभियान अन्तर्गत नयाँ वडा कमिटीहरू गठन गर्नुका साथै जनवर्गीय सङ्गठनहरूलाई पनि क्रियाशील बनाउने काम भइरहेको जिल्ला सचिवालय सदस्य बोहराले जानकारी दिनुभयो ।
आफ्नो पार्टी अहिले सरकारमा रहेकाले सरकारले गर्ने कामका बारेमा समेत गाउँ गाउँमा जानकारी दिने गरिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्