तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय आविष्कार केन्द्रको टोली कर्णाली प्रतिष्ठानमा

जुम्ला।राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोली जुम्ला पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेका विभिन्न उपकरणहरूको अवस्था बुझ्न तथा बिग्रेका बनाउन आविष्कार केन्द्रको टोली जुम्ला पुगेको हो । आइतबार कर्णाली प्रतिष्ठान जुम्ला पुगेको राष्ट्रिय आविष्कार केन्द्रका बायो मेडिकल इन्जिनियर सञ्जय बहादुर सिंह र उमेश किराँती लगायत ७ जनाको टोलीले सोही दिन प्रतिष्ठानका विभिन्न उपकरणको अवस्था अवलोकन तथा मर्मत सम्भार गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बायो मेडिकल इन्जिनियर अर्जुन बहादुर सिंहले दुर्गमका अस्पतालहरूको उपकरण मर्मत तथा अवलोकनका क्रममा सुर्खेत कालिकोट हुँदै आविष्कार केन्द्रको टोली जुम्ला पुगेको बताउनुभयो । उहाँले भन्नुभयो,“आइतबार जुम्ला पुगेको टोलीले प्रतिष्ठानका अक्सिजन कन्सन्ट्रेटर तथा ल्याबका गरी २/३ वटा उपकरण मर्मत गरेका छन् ।

भने,आइसियु,भेन्टीलेटर,ल्याब,ओटी,भिडियो,अडियो एक्सरे लगायतका विभिन्न मेसिनरी उपकरणको अवलोकन गरेका छन् ।”राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोली जुम्लामै पुगेर उपकर मर्मत,अवलोकन तथा आवश्यक ज्ञान दिएकोमा धेरै राहत मिलेको समेत प्रतिष्ठानका बायो मेडिकल इन्जिनियर सिंहको भनाई छ ।

उहाँले थप्नुभयो,“केही मेसिनहरूको वारेन्टी नै सकिएको हुन्छ । तर कहाँ के समस्या भयो भन्ने सजिलै थाहा पाउन मुस्किल हुन्छ । भने,बिजुलीको समस्याले बिग्रेका उपकरण मर्मत गर्न पनि उतिकै समस्या थियो । तर आविष्कार केन्द्रको टोलीले केही मेसिन मर्मत र केही मेसिनको समस्या पत्ता लगाएको छ ।”

दुर्गममै पुगेर यसरी उपकरणको मर्मत गर्दा कर्णाली प्रतिष्ठानलाई ठुलो राहत भएको प्रतिष्ठानका प्रवक्ता डा.रमेश भट्टराईले बताउनुभयो । उहाँका अनुसार आविष्कार केन्द्रको टोली सँग प्रतिष्ठानका उपकरण मर्मत डिपार्टमेन्टका कर्मचारीले छलफल तथा परामर्श गरेका छन् । आविष्कार केन्द्रले मर्मतका लागि थप पर्नु उपकरणहरू अनुदानमा उपलब्ध गराउने भएको छ ।

त्यस्तै अस्पताल निर्देशक डा. राजीव शाहले आविष्कार केन्द्रको प्राविधिक टोली जुम्ला आउँदा कर्णाली प्रतिष्ठानले धेरै लाभ लिएको बताउनुभयो । उहाँले भन्नुभयो,“सबै उपकरण सधैँ राम्रै हुन्छन् भन्ने छैन । हामीले सेवा दिइरहेका उपकरणमा पनि केही खराबी पनि हुन सक्छन् । ती समस्या पत्ता लगाउन प्रतिष्ठानमै आएर तालिम दिनुका साथै उपकरणको खराबी सोधी खोजी गर्दा ठुलो राहत मिलेको छ ।”

आइतबार उपकरणहरू मात्रै अनुगमन तथा मर्मत गरेको प्राविधिक टोली सोमबार प्रतिष्ठानका उपकरण मर्मत डिपार्टमेन्टका कर्मचारी सँग उपकरण मर्मत बारे छलफल परामर्श गर्ने प्रतिष्ठानले जनाएको छ ।दुर्गमका अस्पतालहरूमा बिग्रेर थन्किएका विभिन्न उपकरणहरूलाई प्रयोगमा ल्याई नागरिकलाई सेवा प्रदान गर्न राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोलीको सहयोगले आम नागरिकलाई राहत पुग्ने विश्वास गरिएको छ ।

आइतबार जुम्ला पुगेको उक्त टोली मङ्गलवार मुगु अस्पताल मुगु जाने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button