तपाईँ सुन्दै हुनुहुन्छः

व्यास नगरपालिका भित्र हरितालिका तीजमा सार्वजनिक बिदा

तनहुँ । तनहुँको व्यास नगरपालिकाले हरितालिका तीजका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत भदौ २२ गते बसेको व्यास नगरपालिकाको कार्यपालिकाको बैठकले सो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था र अन्य सङ्घ/संस्थाहरूमा सार्वजनिक बिदा निर्णय भएको व्यास नगरपालिका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै नगरपालिका कार्यपालिकाको बैठकले दमौली अस्पताल व्यवस्थापनका लागि सिमाना जोडिएको जिल्ला कृषि ज्ञान केन्द्रको जग्गा, भवन दमौली अस्पताललाई उपलब्ध गराई कृषि ज्ञान केन्द्रलाई अन्यत्र व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै आन्तरिक कर्मचारी सेवा सुविधा सम्बन्धमा कार्यविधि संशोधन गर्न विद्यमान समितिलाई जिम्मा दिने निर्णय समेत नगरपालिकाले गरेको छ । 

यसै गरी निम्बस फाउन्डेसन विराटनगरसँग व्यास–१० दुम्सी बजारमा नगर अस्पतालको पूर्वाधार एवं आवश्यक उपकरणका लागि बजेट व्यवस्थापन गरिदिन अनुरोध गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button