तपाईँ सुन्दै हुनुहुन्छः

चौतारामा ४५४ लाई निःशुल्क स्वास्थ्य सेवा

सिन्धुपाल्चोक।चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा जागरण राष्ट्रका लागी युवा (युथ फर नेशन) को प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।

मङ्गलवार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ मेलचौरमा भएको शिविरमा विभिन्न रोगबाट आजित भएका ४ सय ५४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य परीक्षणको क्रममा जटिल रोग देखिएका तथा अप्रेसन गर्नुपर्न १८ जनालाई काठमाडौँ रिफर गरिएको छ ।

रिफर गरिएका मध्ये आँखाको अप्रेसन गर्नुपर्ने बिरामीहरूलाई टिचिङ हस्पिटलमा १ हजार शुल्कमा अप्रेसन गर्ने व्यवस्था मिलाइने टिचिङ हस्पिटलका मानसिक रोग विशेषज्ञ तथा युथफर नेसनका अध्यक्ष निकोलस भुषालले जानकारी दिनुभयो ।

स्त्री तथा प्रसूति रोगको जटिल समस्यामा रहेकाहरूलाई युथफर नेसनको समन्वयमा काठमाडौँका विभिन्न हस्पिटलमा निःशुल्क उपचार गरिने चौतारा साँगाचोकगढी नगरपालिका उपमेयर जानुका पराजुलीले जानकारी दिइन् । नगरवासीको स्वास्थ्य समस्या समाधानको लागि नगरपालिकाले सधैँ चासो दिँदै आएको उहाँले बताउनुभयो ।नगर स्वास्थ्य प्रमुख शिव पुरीले दिएको जानकारी अनुसार शिविरमा निम्नानुसारले सेवा प्रधान गरिएको छ ।

स्त्री तथा प्रसूति रोग २ सय ५० जना, दन्त रोग १ सय ५० जना, आँखा रोग २ सय १० जना , नाक कान घाँटी ७८ जना, मानसिक स्वास्थ्य २२ जना,फिजियोथेरापी ५१ जना, हाड जोर्नी तथा नसा रोग १ सय ५० जना, बालरोग १५ जना, सर्जिकल ५८ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।

एक जनाले एक भन्दा बढी प्रकारको सेवा लिएकाले जम्मा सङ्ख्या भन्दा छुट्टाइएको सङ्ख्या बढी देखिएको स्वास्थ्य शाखा प्रमुख पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button