सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्छ : सह महामन्त्री डा महत

काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री डा महतले वर्तमान सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताउनुभएको हो ।
“एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग सम्बन्ध राख्दा अर्को मापदण्ड बनाउनु हुँदैन”, उहाँले भन्नुभयो ।
उहाँले वर्तमान सरकारले विश्वासका आधारमा छिमेकी देशबीचको सम्बन्ध अगाडि बढाएको बताउनुभयो । डा महतले नेपालको परराष्ट्र नीतिको मूलमन्त्र आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको स्पष्ट पार्नुभयो । सरकारले आफ्नो स्वार्थ र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर विदेश नीति बनाउने उहाँको भनाइ छ ।
उहाँले चीनसँगको सीमा विवादबारे सरकारले अध्ययन समिति बनाएकाले मिचिएको देखिए सम्बन्धित निकायसँग सरकारले कुरा उठाउने बताउनुभयो । उहाँले एमसिसीमा भएका आशङ्काहरू अमेरिकी सरकारले हटाउने विश्वास व्यक्त गर्नुभयो ।
सह महामन्त्री डा महतले काँग्रेसको यही भदौ १८ देखि सुरु भएको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखिएको बताउनुभयो । “वडा अधिवेशनले पार्टीभित्र ऊर्जा र जाँगर थपेको छ”, उहाँले भन्नुभयो ।
उहाँले काँग्रेसको महाधिवेशन आउन झन्डै तीन महिना समय बाँकी रहेको भन्दै अनुकूल समय आएपछि आफूले उम्मेदवारी घोषणा गर्ने बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्