तपाईँ सुन्दै हुनुहुन्छः

जोखिममा तनहुँको भिमाद बजार (फोटो फिचर सहित)

तनहुँ । केही दिन अघिको निरन्तर वर्षा रोकिएर चर्को घाम लागेसँगै सुख्खा पहिरो खस्दा तनहुँको प्रमुख व्यापारिक केन्द्र भिमाद बजार पहिरोको उच्च जोखिममा परेको छ । वर्षौँदेखि सेती नदीको कटानबाट प्रभावित भएको बजार क्षेत्रको जोखिम न्यूनीकरण गर्न नसक्दा बजारका घरहरू नै उच्च जोखिममा रहेका छन् । 

गण्डकी प्रदेश सरकारले नदी कटानका लागि तटबन्धन गर्न चासो  देखाए पनि आवश्यक बजेटको व्यवस्था नगर्दा बर्षेनी जोखिम बढ्दै भएको भिमाद नगरपालिका –६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले बताउनुभयो । ‘स्थानीय तहको सीमित बजेट नदी कटानका लागी हात्तीको मुखमा जिरा सरह हुन्छ’ वडाध्यक्ष जोशीले भने, ‘प्रदेश र सङ्घ सरकारले चासो कम दिँदा बजार क्षेत्रकै भविष्य सङ्कटमा छ ।’

घरभन्दा पछाडि रहेको चर्पी र भान्छा कोठा सहित सरसामान नै सुख्खा पहिरोमा खसेपछि कुमारचोकका स्थानीय घर छाडेर अन्यत्र बसाई सरेका छन् । मङ्गलवार घर छाडेर भाडाको कोठामा सामान स्थानान्तरण गर्दै गरेका प्रकाश कलकलले पुर्खौली घर पहिरोको जोखिममा परेर छोड्नु पर्दा मन दुखेको बताउनुभयो । उक्त घरमा होटल व्यवसाय गरेर दैनिकी गुजारा गर्दै आएको कलकलले घरसँगै व्यवसाय समेत गुम्दा चिन्ता थपिएको बताउनुभयो । उहाँले पीडित नागरिकलाई सरकारले विना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराए राहत हुने बताउनुभयो ।

६० वर्षीय कलकलको जस्तै छ, माया हिराचनका व्यथा । २० बर्ष अघिदेखि होटल सञ्चालन गर्दै आएकी हिराचनले त्रासका बीच व्यवसाय सञ्चालन गरेको बताउनुभयो । अन्य विकल्प नहुँदा घर र व्यवसाय छोडेर अन्यत्र जान नसकेको उहाँको भनाई छ । दिनभर त्रासमा होटल सञ्चालन गरे पनि रातको समयमा बास बस्न भने अन्यत्र जाने गरेको उहाँले जानकारी दिनुभयो । ‘पानी पर्दा निकै डर लाग्छ, रातमा त बस्न सक्दैनौँ दिनमा सचेत भएर बसेका छौँ । हिराचनले भनिन्, ‘समयमै तटबन्धन गरेको भए यस्तो अवस्था आउँदैनथ्यो कि जस्तो लाग्छ ।’

भिमादको बजारको कुमारचोकमा झण्डै ४१ घर पूर्ण जोखिमका रहेको जानकारी दिँदै वडाध्यक्ष जोशीले डिपिआर समेत भइसकेको तटबन्धनको काम तत्काल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार झण्डै १७ करोड लागतमा तटबन्धन गर्ने गरी डिपिआर बने पनि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेको छ ।

डिपिआर अनुसार बजेटको व्यवस्था हुन नसक्दा तटबन्धनको काममा ढिलाइ भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन  कार्यालय तनहुँले जनाएको छ । कार्यालयकी सिनियर डिभिजन इन्जिनियर दिपा गौतमले कार्यालयको समग्र बजेटले समेत उक्त कार्य सम्पन्न गर्न नसक्ने भएकाले गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिनुभयो । गौतमले बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्ने बताउनुभयो । कार्यालयले जनाएअनुसार यस बर्ष भिमाद बजारको जोखिम न्यूनीकरण गर्ने गरी सेती नदी किनारमा तटबन्धनका लागि सङ्घीय सरकारले ३०  लाख र प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button