मुआब्जा वितरण नसकिँदै काममा तीव्रता

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम धमाधम भइरहेको छ । सुरुङ निर्माणको काम सकिएपछि अहिले आयोजनाको बाँध र विद्युत् गृह बनाउने कामलाई तीव्रता दिइएको हो ।
बाँधस्थल निर्माण र विद्युत गृहका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन र नेपालको रमण निर्माण जेभीले दोस्रो चरणको कामलाई तीव्रता दिइरहेका छन् । अहिले दोस्रो चरण अन्तर्गतको हेडवकर्स र पावर हाउस निर्माणका काम धमाधम भइरहेको आयोजनाले बताएको छ ।
आयोजनाको बाँधस्थल सुर्खेतको भेरीगंगास्थित चिप्लेमा स्वचालित गेट, पेनस्टक, स्टिल लाइनिङ, बबईमा विद्युत् गृह, टर्बाइन, विद्युतीय उपकरण र सब–स्टेसन निर्माणलगायतका काम भइरहेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर ईश्वरी तिवारीले जानकारी दिनुभयो ।
यता लालपुर्जाविहीन घरजग्गा धनीलाई के–कति रकम दिने भन्नेबारे टुङ्गो नलगाउँदा मुआब्जा वितरणमा ढिलाइ भइरहेको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको चिप्लेमा बाँध निर्माण गरी बबई नदीमा पानी खसाल्दा भेरीगंगा, गुर्भाकोट र लेकबेंसी नगरपालिकाको करिब ३२ हेक्टर जग्गा डुबानमा पर्छ । जसमध्ये आयोजना कार्यालयले हालसम्म लालपुर्जा भएका करिब ९ हेक्टर जग्गाका प्रभावितलाई मात्रै मुआब्जा वितरण गरेको ।
जग्गाको स्थिति हेरेर लालपुर्जा भएकाहरूलाई प्रतिरोपनी अधिकतम ५ लाखसम्म वितरण गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । उहाँका अनुसार डुबानमा पर्ने करिब ३२ हेक्टर जग्गामध्ये झन्डै २३ हेक्टर जग्गा लालपुर्जाविहीन छन् । आयोजना कार्यालयका अनुसार २२.८१ हेक्टर ऐलानी जग्गाको मुआब्जाको बारेमा कार्यविधिसमेत बनेको छैन ।
ऐलानी जग्गाधनीको विवरण सङ्कलन गरी मुआब्जा रकम निर्धारण गर्न सङ्घीय सरकारसमक्ष फाइल पेश गरे पनि अहिलेसम्म कुनै टुङ्गो लागेको छैन । ‘हामीसँग पैसा पनि छ, वितरण गर्नलाई कुनै समस्या छैन,’ सूचना अधिकारी तिवारीले भन्नु भन्यो, ‘तर के–कति मुआब्जा दिने भन्नेबारे सरकारले निर्धारण गरेको छैन, मन्त्रिपरिषद्बाटै निर्णय भएर आएपछि हामीले वितरण गर्न सक्छौँ ।’ उहाँका अनुसार डुबानमा पर्ने ऐलानी जग्गामध्ये साढे ६ हेक्टर जग्गाको फिल्डबुकमा दर्ता भएका छन् । तर लालपुर्जा प्राप्त गरेका छैनन् ।








प्रतिक्रिया राख्नुहोस्