धनुषाका विद्यालयहरू पाँच महिना पछि शुचारु
जनकपुरधाम । धनुषा जिल्लाका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठन पाठन शुचारु भएको छ ।
कोरोना महामारीका कारणले करिब ५ महिना देखि बन्द रहेको विद्यालयहरू स्थानीय तहको निर्णय एवं निर्देशनमा सञ्चालनमा आएको छ । धनुषा जिल्लामा वैशाख २१ गते देखि कोरोना महामारीका कारणले निषेधाज्ञा आदेश जारी गरेपछि विद्यालयहरूको पठन पाठन बन्द भएका थिए ।
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता कुमारी मिश्रले विद्यालयहरू खोल्ने उपमहानगरपालिकाले आयोजना गरेको प्रधानाध्यापकहरूको बैठकले निर्णय गरेको बताउनु भयो । तर जिल्ला प्रशासन कार्यालयले कक्षा ६ भन्दा माथिको विद्यालय सञ्चालनको अनुमति दिइएको उहाँले बताउनुभयो ।
५ कक्षा मुनिका विद्यालयहरू अहिले पनि सञ्चालन हुन नसकेको बताउँदै कोरोना महामारीको अवस्था नियन्त्रणमा रहेकाले सबै विद्यालयहरू खोल्नु पर्ने पक्षमा आफू रहेको बताउनुभयो ।
धनुषा जिल्लामा अहिले कोरोना सङ्क्रमणको अवस्था घटेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भौतिक दूरी सहित विद्यालय सञ्चालन गर्न दिनका लागि जिल्ला प्रशासन कार्यालयले अनौपचारिक रुपमा अनुमति दिएकाले विद्यालयहरूको पठन पाठन शुचारु गरेको विद्यालयका प्रधानाध्यापकहरूले जानकारी दिनु भएको छ ।
कोरोना महामारीको दोस्रो लहरपछि जनकपुरधामको विद्यालयहरू बन्द रहेको थियो । विद्यालयहरू बन्द भएका कारणले विद्यार्थीहरूमा विभिन्न प्रकारका मानसिक तनाव सृजना भएका थिए ।
खास गरेर विद्यार्थीहरू मात्र होइन अभिभावकहरू पनि तनावमा रहेका थिए । जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ४ मा रहेको सङ्कट मोचन देवशरण रामरति माध्यमिक विद्यालयको पठन पाठन शुचारु गरेको विद्यालयले जनाएको छ । विद्यालयमा पठन पाठन शुचारु भएपछि जनकपुरधामको चहलपहलमा वृद्धि भएको छ ।
यसै गरी जनकपुरधाम उपमहानगरपालिकाका संस्थागत विद्यालयहरूमा पठन पाठनका साथै परीक्षा पनि शुचारु भएको छ । विद्यालयहरूमा पठन पाठन शुचारु भएपछि विद्यार्थीहरू पनि निक्कै खुसी भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्