तपाईँ सुन्दै हुनुहुन्छः

‘भारत विरुद्धको खेल जित्नको लागि खेलिने’

file photo

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्ध जित्नकै लागि खेल्ने बताएका छन् ।

बुधवार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध बराबरीको लागि नभई जित्नको लागि खेल्ने बताए । 


भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेल सहज नहुने बताए । उनले खेलका लागि टिम तयार भएको समेत बताए ।


नेपालले भारतसँग बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने मैत्रीपूर्ण खेल ५ः३० बजे सुरु हुनेछ । यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ  । 


नेपाल र भारतले ६ वर्षपछि एक आपसमा खेल्न लागेका हुन । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ ।


माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।


मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने भएका छन् । दशरथ रङ्गशालामा हुने दुवै खेलमा एन्फाले सीमित दर्शकलाई प्रवेश गर्ने भएको छ । 


यसका लागि दर्शकले कोरोना विरुद्धको दुवै डोज खोप लगाएको वा पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ । एन्फाले रङ्गशालामा कुल पाँच हजार एक सय जनालाई सामाजिक दुरी कायम गरेर राख्ने भएको छ । यसका लागि उसले सरकारबाट पनि स्वीकृति लिइसकेको छ । 


रङ्गशाला प्रवेशका लागि समर्थकले अनलाइनबाट टिकट खरिद गर्नुपर्नेछ । टिकटको मूल्य भने यकिन गरिएको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button