फुर्के पोखरीले पायो पुनर्जीवन

सोलुखुम्बु । सुख्खाग्रस्त बनेको सोलुखुम्बुको तल्लो क्षेत्रको नेचासल्यान ४ मा रहेको फुर्के पोखरीले पुनर्जीवन पाएको छ । ग्रामीण विकास संस्था काभ्रेपलाञ्चोक मार्फत लक्जमबर्ग अन्तर्राष्ट्रिय जलवायु कोषबाट २७ लाख ३० हजार रुपियाँको लागत तथा नेचासल्यान गाउँपालिकाको समन्वयमा सोलुवाट्री परियोजना अन्तरगत पोखरीको पुनर्निर्माण तथा पुनभरण गरिएको हो ।
नेचासल्यान गाउँपालिकामा पर्यावरणीय सन्तुलन तथा जलवायु परिवर्तनमा कमी ल्याउँदै दिगो विकासमा टेवा पुर्याउने उद्देश्यले वन विस्तार, पोखरी संरक्षण र प्राङ्गारिक कृषिका क्षेत्रमा काम गर्न थालेको ग्रामीण विकास संस्थाले पहिलो चरणमा फुर्के पोखरी तयार गरेको छ ।
तीन वर्षमा गाउँपालिकाको समेत २५ प्रतिशत लगानी रहने गरी करिब तीन करोड ५८ लाख रुपियाँको लागतमा जलवायु अनुकूलन कार्ययोजना तयार पारी गाउँपालिका भित्र वातावरण संरक्षणका विभिन्न काम गर्ने बताइएको छ ।

गाउँपालिकालाई हरियाली बनाउँदै आन्तरिक पर्यटनको समेत प्रवर्दनमा यसले मदत पुर्याउने गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले बताउनुभयो । खेलमैदान बनाउन लागिएको पोखरीमा अहिले पानी पुर्नभरण भएपछि नेचा क्षेत्रको सुन्दरता थपिएको उहाँको भनाइ छ ।
यस संस्थाको समन्वयनमा तीन वर्षमा पालिकाभित्रका सुकेपोखरी, भेडीखोर पोखरी, तीनकन्या पोखरी सहित पाँच वटा पोखरीलाई पुनर्जीवन दिने र अन्य धेरै काम गर्दै नमुना गाउँ बनाउने अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो । यस्ता किसिमका काम गर्नका लागि पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता उहाँको छ ।
गैरसरकारी संस्था, गाउँपालिका र जनप्रतिनिधि बीचको सहकार्यले पोखरी पुर्नभरण भएको र यसलाई पर्यटनको हबका रुपमा विकास गर्नुपर्ने स्थानीय आग्रह छ । पालिकालाई समृद्ध बनाउनका लागि यस परियोजनाले मद्दत पुर्याउने स्थानीय धनकुमार ढुङ्गेलको आशा छ ।









प्रतिक्रिया राख्नुहोस्