तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलको ज्योतीनगरमा पहिरो : एक दर्जन घर पुरिए, ५० भन्दा बढी घर जोखिममा

रुपन्देही ।  रुपन्देहीको बुटवल–३ ज्योतीनगरमा पहिरो झर्दा ५० भन्दा बढी घर जोखिममा परेका छन् । 

चुरे पहाडबाट खसेको पहिरोका एक दर्जन घर पुरिएका छन् । 

यही भदौ ११ गतदेखि उक्त बस्ती माथिको चुरेमा निरन्तर पहिरो गइरहेकोले त्यहाँ स्थानीय त्रसित भएका भएका छन् । 

पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सारेका छन् । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको बिजुलीको पोल बगाएको छ । 

बुटवलको वडा नं. ३ र ४ माथि रहेको चुरेमा २ वटा ठुला पहिरो गएकोमा यससँगै ३ ठुला पहिरो गएका छन् । 

बुटवल उपमहानगरपालिका वडा ३ का कार्यवाहक बडा अध्यक्ष लिला श्रेष्ठले उज्यालो भएपछि पहिरो खसेका कारण मानवीय क्षति नभएको बताउनुभयो । 

प्रहरी, स्थानीय र जनप्रतिनिधिको सहयोगमा पहिरोबाट जोखिममा परेका परिवारलाई बुटवल बहुमुखी क्याम्पसको भवनमा सार्ने तयारी गरेको उहाँले बताउनुभयो ।

२०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो । उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो । 

पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो । 

यस्तै  तिनाउ नदीमा आएको बाढीले बुटवल–११ बुद्ध नगरका १२ घरमा क्षति पुगेको छ । आज बिहानदेखि बाढी बस्तीतिर सोझिएर घर कटान गर्न थालेको हो । 

क्षति बढ्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा लैजान लागिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button