बाघको छालाको अवैध कारोबारमा संलग्न तीन जना पक्राउ

तनहुँ । बाघको छालाको अवैध कारोबारमा संलग्न तीन जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ जिल्लाको ब्यास नगरपालिका–५ पतेनीस्थित पक्की पुलबाट बाख्रेतर्फ जाने कच्ची सडकबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी निरीक्षक शिव क्षत्रीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा ब्यास नगरपालिका –६ का ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्तीका ४० वर्षीय सञ्जित गुरुङ र सोही वडाको रनतपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

पक्राउ परेका उनीहरूको साथबाट ५ फिट सात इन्च लम्बाई, २ फिट ५ इन्च चौडाई भएको र तीन फिट लम्बाई, ३ फिट एक इन्च चौडाई भएको दुई थान बाघको छाला, २ सय २२ वटा बाघको शरीरका विभिन्न भागका हड्डी र खप्पर बरामद गरिएको छ ।
साथै उनीहरूले प्रयोग गरेको दुई थान पल्सर बाइक, एउटा डियो स्कुटर, तीन वटा मोबाइल सेट र पाँच हजार तीन सय ८५ रुपैयाँ पनि बरामद गरिएको प्रहरी निरीक्षक शिव क्षेत्रीले बताउनुभयो ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय तनहुँको संयुक्त टोलीले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय दमौली पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्