तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय सञ्चालन गर्ने तयारीमा व्यास नगरपालिका

तनहुँ । तनहुँको व्यास नगरपालिकाले एउटा कक्षामा २५ जनासम्म रहने गरी विद्यालयमा प्रत्यक्ष कक्षा चलाउने तयारी गरेको छ । 

मङ्गलवार बसेको नगर कार्यपालिका बैठकले अनलाइन कक्षा सञ्चालन हुन नसकेमा स्वास्थ्य मापदण्ड अपनाई प्रत्यक्ष कक्षा चलाउने तयारी गरेको व्यास नगरपालिकाले जनाएको छ ।

भाद्र १३ गते आइतबारबाट २५ जनासम्म रहने गरी कक्षा चलाउने तयारी नगरपालिकाको छ । 

मङ्गलवार नगरपालिकाले गरेको सो निर्णय जिल्ला जोखिम व्यवस्थापन समितिमा पठाउने निर्णय भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । 

विद्यालयहरूमा भरसक अनलाइन र अनलाइन कक्षा सञ्चालन हुन नसकेमा २५ जनाभन्दा बढी कक्षामा नरहने गरी प्रत्यक्ष कक्षा गर्ने गरी विद्यालय सञ्चालन गर्न समितिमा सिफारिस गरी पठाउने नगरपालिकाले निर्णय गरेको छ ।

जिल्ला जोखिम व्यवस्थापन समितिले सो निर्णय पास गरेमा अनलाइन पहुँच नहुने विद्यालयको हकमा सो निर्णय लागु हुने नगरपालिकाले जनाएको छ ।

त्यस्तै व्यास नगरपालिका भित्रका प्रस्ताव पेस गर्ने ४९ विद्यालयलाई प्रविधिमैत्री कार्यका लागि रु.एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

व्यास नगरपालिका भित्र नेपाल सरकारबाट जारी भएको कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ बमोजिम जोखिम क्षेत्रको विश्लेषण गरी लकडाउन गर्ने समेत नगरपालिका निर्णय गरेको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । 

त्यसैगरी, घर संरक्षण, कुलो, खेत, बाटाहरूको पुनर्स्थापना कार्यमा वडाको सिफारिसका आधारमा विपद्बाट असर पुगेका लाभग्राहीहरूलाई राहत उपलब्ध गराउने कार्य भइरहेको र बाँकीलाई समेत सहयोग उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

यस्तै, कोभिड – १९ को संक्रमण पहिचान गर्न पिसिआर परीक्षण सम्बन्धी प्रयोगशाला प्रयोगमा ल्याउन जनशक्तिको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको र २५ बेडको कोभिड व्यवस्थापन अस्पतालको भवन निर्माणमा टेण्डर प्रक्रिया अघि बढेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, नगरपालिका भित्रका स्नातक उत्तीर्ण बेरोजगार महिलालाई उद्यमशीलता अनुदान उपलब्ध गराउन भाद्र महिनाभित्र वडाको सिफारिससहित प्रस्ताव पेस गर्न सूचित गर्ने निर्णय समेत भएको छ ।

यसैगरी, व्यास नगरपालिका वडा नं.६, १०, ११, १३, १४ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रस्तावित कार्यहरू गर्न रु.२५ लाख विनियोजन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button