आयोगको नतिजा सच्याउन माग गर्दै ६० कलेज बन्द

भक्तपुर । चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फको नतिजामा सुनियोजित ढङ्गले कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराएको र विद्यार्थी नपाएको भन्दै स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एसिया) पूर्वाञ्चल विश्वविद्यालय सहित ३ संघसंगठनले आयोगलाई आफु मातहतका कलेजको साँचो बुझाएका छन् ।
एसियाका अध्यक्ष यामप्रसाद अधिकारी ,कलेज सङ्घ त्रिभुवन बिश्वबिद्यालयका अध्यक्ष जीवन प्रकाश शर्मा र ओपन (पोखरा विश्व विद्यालय)का अध्यक्ष नवराज पाण्डे नेतृत्वको टोलीले आयोगका उपसचिव तथा सूचना अधिकारी सेमन्तराज कोइरालालाई ६० वटा कलेज बन्द गरी उक्त कलेजका साँचो बुझाएका हुन् ।
आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी अनुपस्थित भएपछि साँचो उपसचिव कोइरालालाई बुझाइएको एसियाका अध्यक्ष अधिकारीले बताउनुभयो । साँचो बुझ्दै आयोगका उपसचिव कोइरालाले आफू साँचो ग्रहण गर्ने माध्यम मात्र भएको बताउँदै उहाँहरूका माग आयोग नेतृत्व समक्ष पुर्याउने बताउनुभयो ।
आयोगका उपाध्यक्षलाई सम्बोधन गर्दै साँचो बुझिदिन लेखिएको ध्यानाकर्षण पत्रमा शैक्षिक सत्र २०७७–२०७८ मा आयोगले लिएको प्यारामेडिक्सको प्रवेश परीक्षामा विभिन्न बिश्वबिद्यालयहरुले अपनाउने प्रवेश परीक्षाको विधि अनुसार न्यूनतम ३५ प्रतिशत उत्तीर्ण ल्याएका बिद्यार्थीहरुलाई योग्यता क्रम मेरिट बेसिसका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
यसैगरी कोभिड १९ को महामारी र एउटै ऐनबाट स्थापित तथा एउटै बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त सरकारी र निजी कलेजहरूमा सिट निर्धारण गर्दा सरकारी कलेजमा सिट यथावत् राखी निजीको सिट शून्य गरिएकोमा अविलम्ब सिट निर्धारण गरिदिन अनुरोध गरेको छ ।
आयोगले लिएको प्रवेश परीक्षामा चिकित्सा शिक्षा सङ्काय अन्तरगतका उत्तीर्ण विद्यार्थी सोही सङ्काय अन्तरगतका अन्य विषयमा भर्ना हुने गरी कार्यविधिमा सच्याउन समेत माग गरिएको छ ।
एसियाका अध्यक्ष अधिकारीले स्वास्थ्य शिक्षातर्फका कलेजहरू चिकित्सा शिक्षा ऐन आएपछि बन्द हुने अवस्थामा पुगेको भन्दै निजी स्तरबाट सञ्चालित कलेजमा विद्यार्थी नदिई सुनियोजित ढङ्गबाट बन्द गर्ने षडयन्त्र गरिएको बताउनुभयो ।
उहाँले शुल्क निर्धारण आयोगले गर्ने, अनुगमन गर्ने, सिट निर्धारण गर्ने तथा प्रवेश परीक्षा आयोगले लिने तर आयोगले निर्धारण गरेको सिट सङ्ख्या पुग्ने गरी प्रवेश परीक्षामा विद्यार्थी उत्तीर्ण नगराई सबै निजी कलेजमा विद्यार्थी नदिई सुनियोजित ढङ्गबाट कलेज बन्द गर्ने षडयन्त्र गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्