नमोबुद्ध नगरपालिकामा आँखा परिक्षण अभियान सुरु

काभ्रेपलाञ्चोक । जिल्लाको नमोबुद्ध नगरपालिकाका बालबालिकालाई लक्षित गर्दै निःशुल्क घरदैलो आँखा परीक्षण अभियान सञ्चालन गरिएको छ ।
नमोबुद्ध नगरपालिका र सेवा फाउन्डेसनको सहकार्य तथा रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाको आयोजनामा आँखा परिक्षण अभियान सुरु गरेको हो । आज बाट सुरु भएको अभियान नगरपालिकाको सबै वडा र टोलहरूमा सञ्चालन हुने नगरले जनाएको छ ।
कोरोना महामारीका कारण बालबालिकाहरू विद्यालय नगई अनलाइन कक्षामार्फत पढिरहेका कारण उनीहरूको आँखामा समस्या देखिन थाले पछि नगरले सो अभियान सुरु गरेको हो । अभियानको क्रममा बालबालिका मात्रै नभई युवा र वृद्धवृद्धाको पनि आँखा परिक्षण हुने नगरपालिकाले जानकारी दिएको छ ।

अभियानको उद्घाटन गर्दै नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले अनलाइन क्लासका कारण बालबालिकाको आँखामा समस्या देखिन थालेकाले त्यसलाई न्यूनीकरण गर्न आँखा परिक्षण अभियान थालिएको बताउनुभयो । नगरवासीको स्वास्थ्य समस्या समाधानका लागि नगरपालिका गम्भीर रूपमा लागिपरेको र यो अभियानबाट सबै नगरवासी लाभान्वित हुने अपेक्षा रहेको नगर प्रमुख तिमल्सिनाले बताउनु भयो । उहाँले यही बर्ष नगरपालिकाले श्रवण शक्ति कम भएका व्यक्तिका लागि निःशुल्क रुपमा कान सुन्ने मेसिन उपलब्ध गराउने, विद्यालय जाने बालबालिकाको निःशुल्क बिमा गराउने तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम अघि सारिएको जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं. ७ का अध्यक्ष धर्मसिं लामाले वडाका टोलबस्तीमा शिविर सञ्चालनका लागि सहकार्य गरिने र आवश्यक सहयोग गर्ने समेत जानकारी दिनुभयो । बालबालिकालाई लक्षित गर्दै यस्तो शिविर सञ्चालन हुनु खुशीको विषय भएको वडा अध्यक्ष लामाले बताउनुभयो ।

उक्त कार्यक्रममा रेयुकाई मासुनागा आँखा अस्पतालका महासचिव हिरामणि शर्माले अस्पतालबाट खटिने पाँच जनाको टिमले २ देखि ३ महिनासम्म नगरका सबै वडा र टोलमा घरदैलो कार्यक्रममार्फत आँखा परिक्षण गर्ने जानकारी दिनु भयो । उहाँका अनुसार परीक्षणको क्रममा चश्मा तथा औषधी आवश्यक पर्ने बालबालिकालाई निःशुल्क चस्मा र औषधी उपलब्ध गराइनेछ भने थप उपचार आवश्यक परे अस्पतालको भकुण्डेवेशी सेवा केन्द्र र बनेपास्थित अस्पतालमा उपचार गरिने महासचिव शर्माले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्