गाउँमा पुग्ने बाटो छैन, सांसदबीच प्रवेशद्वार निर्माणमा होडबाजी

वीरगन्ज । विकास निर्माण भन्दा पनि प्रचारप्रसारमा सङ्घ र प्रदेशका सांसदहरू जुटेपछि पर्सा जिल्लामा अनावश्यक रुपमा करोडौँ बजेट स्वागत द्वार निर्माणमा खर्चिएको छ ।
जनतालाई गाउँ सम्म पुग्ने बाटो होस वा नहोस् तर चोकमा चाहिँ सांसदहरुले प्रचारको लागि स्वागत द्वार बनाएका छन् । सङ्घ र प्रदेश सांसदले निर्वाचन क्षेत्रका लागि पाउने बजेटबाट प्रवेशद्वार बनाउन बीरगंज तथा पर्सामा प्रतिस्पर्धा भएको भेटिएको छ ।
वीरगन्ज महानगरपालिकाको बहुअरी र रामगढवा टोल प्रवेश गर्ने स्थानमा करिब एक किलो मिटरकै अन्तरमा ४ वटा प्रवेशद्वार निर्माण गरिएको छ ।
दुई वटा प्रवेश द्वार प्रदेश सभा सदस्य अञ्जु कुमारी यादवले निर्माण गर्नु भएको छ भने एउटा प्रदेश सांसद रमेश पटेल र अर्को प्रवेशद्वार सङ्घीय सांसद विमल श्रीवास्तवले निर्माण गर्नु भएको छ ।
प्रतिस्पर्धात्मक रूपमा बनाइएका अग्ला र खर्चिलो प्रवेशद्वारको शिलालेखमा आफ्नो नाम अङ्कित हुने भएपछि स्वागत द्वार निर्माणमा सांसदबीच प्रतिस्पर्धा भएको छ ।

जिल्ला समन्वय समिति पर्साको तथ्यांकअनुसार सङ्घ र प्रदेशका सांसदहरूले आर्थिक वर्ष २०७५÷७६ देखि आर्थिक बर्ष २०७७÷७८ सम्ममा स्थायी र अस्थायी प्रवेशद्वार निर्माणमै करिब डेढ करोड बजेट खर्च गरेका छन् ।
पर्साका सङ्घीय सांसदहरूले उक्त अवधिमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत आ–आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने क्रममा विभिन्न स्थानमा गरी ९२ लाख ५० हजार रुपैयाँ प्रवेशद्वार निर्माणमा खर्च गरेको तथ्याङ्क जिल्ला समन्वय समिति पर्साबाट प्राप्त भएको छ ।
जिससका सूचना अधिकारी नरेन्द्रप्रसाद यादवले सांसदहरूले आआफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका योजनाको संशोधनसम्मको अधिकार पाएको हुँदा विकासको बजेट सस्तो लोकप्रियताका लागि प्रचारप्रसारमै लगाउने गरेको पर्सामा निर्माण भई रहेका स्वागत द्वारहरुले देखाएको छ ।
जिल्ला पूर्वाधार कार्यालयका सूचना अधिकारी दीपककुमार मिश्रले प्रदेशसभा सांसदहरूले गर्न चाहेको विकास निर्माणको काममा कार्यालयबाट आवश्यक सहजीकरणको काम मात्र हुने गरेको कारण आवश्यकता नै नभएको स्थानमा स्वागत द्वार निर्माण गर्ने होडबाजी चलेको बताउनुभयो ।
अहिले हुँदा हुँदै प्रवेशद्वार निर्माणको होडबाजीमा पालिकाका जनप्रतिनिधिहरू समेत लागेका छन् । पर्साका धेरै पालिकामा वडा स्तरमै प्रवेशद्वार निर्माण भई रहेका छन् ।
पर्सा क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तवले आफूले स्थानीय स्तरबाटै माग भए बमोजिम दुई नम्बर क्षेत्रको विभिन्न चोकमा प्रवेशद्वार निर्माणमा बजेट विनियोजन गरेको बताउनुभयो ।
पर्साको ग्रामीण क्षेत्रमा आवतजावतका लागि बाटो नभएर जनताले दुःख, सास्ती खेपी रहनु परेको बेला यता सांसदहरुले करोडौँको बजेट स्वागत द्वारमै सिध्याएपछि सर्वसाधारण भने आक्रोशित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्