गर्भवती महिला कोरोना सङ्क्रमणको जोखिममा

दोलखा । दोलखामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुदै जाँदा सुत्केरी तथा गर्भवती महिलाहरू समेत जोखिममा परेका छन् । साउन महिनामा मात्र ४१ जना गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको चरिकोट अस्पतालका प्रमुख एमडिजिपि डाक्टर विनोद दंगालले बताउनुभयो ।
जिल्लामा कोरोना सङ्क्रमणको समग्र पक्षको तथ्याङ्क हेर्दा गर्भवती महिलामा देखिएको सङ्क्रमणको सङ्ख्या त्यति डरलाग्दो त हैन तर यसले उहाँहरू पनि जोखिममा हुनुहुन्छ भन्ने चाहिँ देखाएको चरिकोट अस्पतालका प्रमुख डाक्टर दंगालले भन्नुभयो । साउन महिनामा संक्रमित गर्भवती महिलाहरू को सङ्ख्यामा वृद्धि भएकोले पनि उहाँहरू जोखिममा रहनु भएको देखिएको डाक्टर दंगालको भनाई छ ।
दोलखा जिल्लामा भदौ ५ गते शनिवारसम्मको तथ्याङ्क हेर्दा तीन हजार दुई सय ६६ जनामा दोस्रो लहरको कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ६२ जना गर्भवती महिलाहरू रहेको डाक्टर दंगालले बताउनुभयो ।
कोरोना सङ्क्रमणको दोस्रो लहरमा तीन महिनाको अवधिमा असारसम्म २१ जनामात्र गर्भवती महिला कोरोना संक्रमित भएकोमा एक महिनाको अवधि साउन महिनामा मात्र ४१ जना गर्भवती महिला संक्रमित भएकोले पनि उहाँहरू जोखिममा रहनु भएको देखिएको डाक्टर दंगालको भनाई छ ।
कोरोना संक्रमित ६२ जना गर्भवती महिलाहरूमा अधिकांश ठिक भइसक्नु भएको डाक्टर दंगालले बताउनुभयो । संक्रमित गर्भवती महिलाहरू मध्य तीन जनाको सामान्य प्रसूति समेत भएको र तीन जनालाई अस्पतालमा राखेर उपचार गर्नु परेको जनाइएको छ । संक्रमित गर्भवती महिलाहरू कसैलाई पनि उपचारको लागि काठमाडौँ भने रेफर गर्नु नपरेको चरिकोट अस्पतालले जनाएको छ ।
सामान्य रुघा, खोकी र ज्वरो आएको गर्भवती महिलाहरूमा समेत कोरोना संक्रमण पुष्टि भएकोले उहाँहरूले विशेष सतर्कता अपनाउनु पर्ने डाक्टर दंगाल बताउनु हुन्छ । संक्रमित गर्भवती महिलाहरूले मास्क लगाएर मात्र दूध खुवाउने र बच्चालाई छुनु अघि साबुन पानीले मिचिमिचि हात धुनु पर्ने डाक्टर दंगालले बताउनुभयो ।
अन्य जिल्लाको तुलनामा दोलखामा सङ्क्रमितको सङ्ख्या धेरै रहेको तर भ्याक्सिन भने कम आएको स्वास्थ्यकर्मीहरूको भनाई छ । दोलखामा अहिले पनि चार सय ६६ जना सक्रिय संक्रमित रहेको र जिल्लाबाट रेफर गरेको बाहेक नै पनि १३ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क रहेको चरिकोट अस्पतालले जनाएको छ ।
अस्पतालमा अहिले आइसियु, भेन्टिलेटर र अक्सिजन भए पनि आवश्यक जनशक्तिको अभाव रहेको अस्पतालका प्रमुख डाक्टर विनोद दंगालले बताउनु भयो । बागमती प्रदेशले आवश्यक जनशक्ति पठाउने भने पनि अहिलेसम्म त्यसको व्यवस्थापन गर्न नसकेको चरिकोट अस्पतालले जनाएको छ ।
दोलखा जिल्लामा कोभिशिल्ड, भेरोसेल, जोनसन र एस्ट्राजेनेका गरी पहिलो र दोस्रो दुवै डोज झण्डै ३७ हजार (जोनसन खोप लगाउने आठ हजार समेत) ले लगाएको र पहिलो डोज मात्र करिब सात हजारले लगाएको स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ ।








प्रतिक्रिया राख्नुहोस्