तपाईँ सुन्दै हुनुहुन्छः

केपिलासगढीमा नेकपा (एकीकृत समाजवादी)को दुई सङ्गठन गठन

खोटाङ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले केपिलासगढी गाउँपालिकामा युवा सङ्घ र पिपुल भोलेन्टियर्सको गाउँपालिका कमिटी गठन गरेको छ । केपी ओली नेतृत्वको नेकपा (एमाले)बाट विभाजन भएर माधव नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीले सोमबार अविषेक राईको संयोजकत्वमा ६३ सदस्यीय युवा सङ्घ नेपाल र इन्जु राईको संयोजकत्वमा ४५ सदस्यीय पिपुल भोलेन्टियर्स गाउँपालिका कमिटी गठन गरेको हो ।

नवगठित दुवै कमिटीका पदाधिकारीलाई एकीकृत समाजवादी खोटाङका सचिव जलशेर राईले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ । नवगठित कमिटीका पदाधिकारीलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुहुँदै पार्टीका जिल्ला सचिव राईले अब जिल्लाका सबै स्थानीय तहमा पार्टी कमिटी तथा भातृ सङ्गठन गठन गरेर पार्टीका गतिविधि अगाडि बढाउने बताउनुभएको छ ।

एकीकृत समाजवादी खोटाङका सचिवालय सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राई, युवा सङ्घका जिल्ला अध्यक्ष पवन श्रेष्ठलगायतको उपस्थितिमा गठन गरिएको कमिटीका पदाधिकारीले दुई घण्टा बाक्सिला बजारको सरसफाइसमेत गरेको छ । हरेक महिनाको दुई दिन दुई घण्टा ‘मेरो राष्ट्रका लागि’ अभियान सञ्चालन गर्ने सङ्गठनको केन्द्रीय नीतिअनुसार जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरिने युवा तथा खेलकुद विभाग प्रमुख राईले बताउनुभयो ।

सरकारले अध्यादेश ल्याएसँगै एमाले विभाजन भएर केन्द्रमा नेपाल नेतृत्वको नयाँ पार्टी गठन गरेर आधिकारिकता नपाउँदै जिल्लामा एकीकृत समाजवादीले पार्टी कमिटी गठनको काम सुरु गरेको छ । केन्द्रमा औपचारिक रूपले पार्टी विभाजन भए लगत्तै जिल्लामा बसेको जिल्ला कमिटीको बैठकले नेताहरूबिच औपचारिक रूपमा कार्य विभाजन गरेर सबै स्थानीय तहमा पार्टी कमिटी तथा भातृ सङ्गठन निर्माणको काम सुरु गरिएको जिल्ला सचिव राईले बताउनुभयो । केन्द्रमा एमाले विभाजन भए पनि १० स्थानीय तह रहेको जिल्लामा अधिकांश जनप्रतिनिधि एकीकृत समाजवादीमा देखिएका छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button