अविरल वर्षाका कारण फार्ममा पालिएका ६ सय कालिजका चल्ला मरे, १७ लाखको क्षति

पोखरा । लगातारको वर्षाका कारण पोखराको एक कालिज फार्ममा पालिएका ६ सय ११ वटा कालिज मरेका छन् । आइतबार साँझदेखि परेको लगातारको वर्षाको कारण पोखरा महानगरपालिका वडा नं – ११ काहुँ स्थित ‘ससु कालिज फार्म’ मा रहेका ६ सय ११ वटा कालिज मरेका फार्म सञ्चालक सुवास गुरुङले जानकारी दिनु भयो ।
आफूले व्यावसायिकरूपमा कालिज पालन गर्ने उद्देश्यले ११ सयको सङ्ख्यामा चल्लाहरू ल्याएर राखेकोमा एक दिन अघि मात्र कालिज फार्ममा ९ सय ३० वटा कालिजको चल्ला हालेकोमा ६ सय ११ वटा चल्ला मृत भेटिएको सञ्चालक गुरुङले बताउनु भयो । उहाँका अनुसार १ सय ७० चल्ला भने हुर्काउने क्रममै त्यस अघि नै मरेका थिए । हाल फार्ममा करिब तीन सयको सङ्ख्यामा मात्र जिउँदा कालिज रहेको गुरुङले बताउनुभयो ।
गुरुङले भन्नुभयो ‘९६ दिनसम्म कोठामा राखेर हुर्काएका चल्ला खुल्ला आकाश मुनिको खोरमा छाडेको केही घण्टामै लगातार पानी परेको कारण मरेका हुन् ।’ पोथीले अण्डा पार्न थाले पछि मात्र कालिजको मासु खान उपयुक्त हुने भन्दै उहाँले बाँकी रहेका चल्लालाई बचाउन आफूले पहल गरिरहेको बताउनु भयो । विगत केही वर्षदेखि व्यवसायीक रुपमा बाख्रा पालन गर्दै आउनु भएका सुवासले पछिल्लो समयमा कालिजको माग बढेसँगै कालिज पालन व्यवसायतर्फ लाग्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्