तपाईँ सुन्दै हुनुहुन्छः

भालुले मकै खाएर किसान हैरान

सोलुखुम्बुको तामाखानीमा मकैबाली जोगाउन बनाइएका छाप्राहरू, तस्बिर : सन्तोष राउत

सोलुखुम्बु । ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने उखान जस्तै सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरि साना साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरि खाने खेती जोगाउनु कृषकहरूको बाध्यता बनेको छ । मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरूमा भालुले मकै स्वाहा पार्न थालेपछि कृषकहरूले रातभर बारीमा टिन बजाएर जागै बस्नु परेको हो । 

भालुले रातभरि मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो निर्माण गरी आगो बालेर भालु लखेट्न थालेको तामाखानीका स्थानीय कृषक चेतबहादुर मगरले बताउनुभयो । भालु खेद्न रातभर बारीमा नै बस्नुपर्छ, एकछिन निदायो भने मकै सबै भालुले खाइदिन्छ, वर्ष दिनको खेती त्यही हो राम्रोसँग सुत्न नपाएको पनि कति दिन भइसक्यो, उहाँले भन्नुभयो । 

जिल्लाका तामाखानी, बेनी, टाक्सिन्दुलगायतका आधा दर्जनभन्दा बढी गाविसका विभिन्न भागमा भालुको आतङ्कले स्थानीयको जनजीवन समेत त्रसित बनेको छ । वर्षेनी भालुको आक्रमणबाट कृषकहरू सख्त घाइते तथा केहीको मृत्यु भएका घटनाले समेत उनीहरू त्रसित बनेका हुन् ।

त्यस्तै, बेनी फेरा आसपासका हरेक किसानले बारीमा छाप्रो बनाई टिन ठटाएर भालु लखेट्न थालेका छन् । हामीले सुत्न पाएका छैनौँ, रातभर भालुको ड्युटी गर्दा ठिक हुन्छ, फेरी कति बेला आएर खाइहाल्छ, बेनिका कृषक लाक्पा शेर्पाले गुनासो गर्नुभयो । भालु मार्ने आदेश पाएमा उनीहरूले मार्ने आशय समेत व्यक्त गरे । 

भालु मार्दा कानून लाग्छ भन्छन् नमार्दा यसले त वर्षभरिका कमाई भुसुक्कै पार्ने भो, बेनी–२ का कृषक कामे शेर्पाले भन्नुभयो । भालुको आतङ्क बढेपछि राती घरबाहिर निस्कन समेत डर लाग्ने स्थानीय बताउँछन् । तामाखानी क्षेत्रमा मात्र पाँच वटा भन्दा बढी भालु रहेको उनीहरूको भनाई छ । 

भालु एउटैले बारीमा पस्न पायो भने सबै मकै खाने र माड्ने गरेर स्वाहा पार्ने गर्दछ । जिल्लाका रिङमु, फेरा र जुनबेशीलगायतका क्षेत्रमा पनि भालुले सताएको कृषकहरूको गुनासो छ । उता प्रशासन तथा जिल्ला वन कार्यालयले भने कुनै पनि जङ्गली जनवारलाई मार्न वा क्षति पुर्‍याउन नपाइने बताउँदै आएका छ । 

अन्य वैकल्पिक उपायहरू अपनाएर नै बालीको संरक्षण गर्नुपर्ने र बाली नष्ट गरेबापत कुनै क्षतिपूर्ति दिने प्रावधान नभएको जिल्ला वन कार्यालयले जनाएको छ । मानिसलाई नै क्षति पुर्‍याएमा भने सगरमाथा राष्ट्रिय निकुञ्जले प्रमाणित गरे बमोजिम घाइते तथा मृतकलाई क्षतिपूर्ति दिन सकिने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button