तपाईँ सुन्दै हुनुहुन्छः

जाम्बियाका राष्ट्रपतिले निर्वाचन नतिजाविरुद्ध उजुरी नदिने

जाम्बियाका राष्ट्रपति एड्गार लुङ्गुले निर्वाचनको नतिजाविरुद्ध उजुरी नदिनुहुने भएको छ । 

यही अगस्त १२ मा भएको राष्ट्रपतीय निर्वाचनको नतिजा प्रति असन्तुष्ट भए पनि उहाँले नतिजाविरुद्ध भने उजुरी नदिनुहुने भएको हो । 

निर्वाचनमा झन्डै १० लाख मत अन्तरले पराजित भएपछि उहाँले निर्वाचन निष्पक्ष र स्वतन्त्र हुन नसकेको दाबी गर्नुभएको थियो । उहाँले निर्वाचनमा धाँधली भएको आरोप पनि लगाउनुभएको छ । 

“निर्वाचन निष्पक्ष र स्वतन्त्र रूपमा हुन सकेको छैन, निर्वाचनमा धाँधली भएको छ, तैपनि म यस नतिजालाई चुनौती दिँदै अदालत जाने पक्षमा छैन,” उहाँले भन्नुभयो । 

निर्वाचनविरुद्ध उजुरी दिएर विवाद गर्नु आफ्नो महत्त्वपूर्ण समयको बर्बादी मात्रै हुने उहाँको भनाइ छ । राष्ट्रपति लुङ्गुलाई हाकैन्डे हिचिलेमाले पराजित गर्नुभएको निर्वाचन आयोगले घोषणा गरिसकेको छ । 

नवनिर्वाचित राष्ट्रपतिलाई आगामी मङ्गलबार शपथ ग्रहण  गराउने तयारी भइरहेको बेला लुङ्गुको प्रतिक्रिया आएको हो । 

उहाँलाई निर्वाचनको नतिजाविरुद्ध उजुरी हाल्न उहाँका शुभेच्छुक र पार्टीका कार्यकर्ताहरूले नै दबाब दिँदै आएको समाचार प्रकाशित भएका छन् ।   

“मलाई निर्वाचनको नतिजालाई चुनौती दिँदै निर्वाचन अदालत जान मेरा शुभेच्छुक तथा पार्टीका कार्यकर्ताहरूले दबाब र सुझाव दिइरहेका छन्, तर म उनीहरूलाई त्यसो गर्नु समयको बर्बादी मात्रै भएकाले उजुरी नहाल्ने जवाफ दिने गरेको छु,” उहाँले भन्नुभयो । सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button