तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा कोरोना नियन्त्रणसँगै चहलपहल बढ्यो, व्यापार बढेन

वीरगंज । कोरोना संक्रमण नियन्त्रणसँगै बजार र यातायात सञ्चालनमा आएपछि पछिल्लो समय वीरगंजमा मानिसहरूको चहलपहल बढेको भए पनि व्यापार भने खासै हुन नसकेको व्यवसायीहरूले बताएका छन् । 

बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार हुन नसकेको व्यवसायीहरूले बताएका छन् । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा खासै कमी नआए पनि लत्ताकपडा, फेन्सी पसल, विद्युतीय सामग्री, हस्तकलालगायत वस्तुको व्यापार अहिले पनि करिब ४० प्रतिशत मात्र रहेको व्यवसायीहरूले गुनासो गरेका छन् । 

वीरगंजको माइस्थानमा फेन्सी कपडाको व्यापार गर्दै आएका श्याम किशोर जैसवालले बजारमा मान्छेहरूको चहलपहल बढेअनुसार व्यापार नभएको बताउनुभयो । महामारीको असरले गर्दा उपभोक्ताको क्रय शक्ति घटेका कारण बजार खुले पनि व्यापार हुन नसकेको वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल केडियाले बताउनुभयो । 

चाडबाड भित्रिने क्रम शुरु भएसँगै अहिले फेन्सी कपडाको व्यापार राम्रो हुने समय भए पनि महामारीको असरले बजारलाई अस्तव्यस्त बनाएको केडियाले बताउनुभयो । 

त्यसै गरी विद्युतीय सामग्रीको व्यापारले समेत गति लिन नसकेको व्यापारीहरूले बताएका छन् । पङ्खा, बल्ब, जेनेरेटर, राइसकुकर, तार लगायत उपकरणको व्यापार सामान्य अवस्थाको समयमा भन्दा अहिलेको अवस्थामा करिब ८० प्रतिशतले घटेको वीरगंज लिङ्क रोडका व्यवसायीहरूले गुनासो गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button