तपाईँ सुन्दै हुनुहुन्छः

एम्बुलेन्स चालकहरूद्वारा कोरोना विरुद्धको खोप नपाएको भन्दै गुनासो

झापा । झापाको बिर्तामोड नगरपालिकाका एम्बुलेन्स चालकहरूले कोरोना विरुद्धको खोप नपाएको भन्दै गुनासो गरेका छन् । बिरामी बोक्ने एम्बुलेन्स चालकहरू कोरोनाविरुद्ध अभियानका अग्रपङ्तिका योद्धा (फ्रन्टलाइनर) भए पनि अहिलेसम्म खोप नपाएको भन्दै उनीहरूले दुःख व्यक्त गरेका छन् ।

बिर्तामोडस्थित बजरङ मेडिकलको मे १ च १०५० नम्बरको एम्बुलेन्स चलाउँदै आएका चालक चेतन राईले बिर्तामोड क्षेत्रका लगभग २८ जना एम्बुलेन्स चालकले खोप लगाउन नपाएको बताउनुभयो । खोप लगाउन नपाउँदा घरमा बालबच्चासहित परिवारका सदस्यहरु कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका उहाँले बताउनुभयो । “हामीले मेयर साबलाई खोप मिलाइदिन अनुरोध गर्याैं, उहाँले व्यवस्था मिलाउँला भनेर आश्वासन मात्र दिनुभयो” –चालक राईले भन्नुभयो ।

खोपको व्यवस्था मिलाइदिनु बिर्तामोडका मेयर ध्रुव शिवाकोटीलाई आग्रह गरिएको तर अहिलेसम्म सुनुवाइ नभएको एम्बुलेन्स चालकहरूको भनाई छ ।बिर्तामोडमा ९०० शय्याको प्रस्तावित बीएन्डसी मेडिकल कलेजदेखि सयभन्दा बढी शय्याका बिर्ता सिटी र मनमोहन, ५० शय्याको कनकाई, कञ्चनजङ्घा, अञ्जलि अस्पताल समेत रहेको छ । आँखा उपचार गर्ने ठुला अस्पताल पनि बिर्तामोडमा छन् ।

बीएन्डसी र विर्तासिटीमा कोरोना उपचार केन्द्र सञ्चालन भइरहेको छ । एम्बुलेन्सको सङ्ख्या समेत बिर्तामोडमा ज्यादा रहेको छ ।
एम्बुलेन्स चालकहरूलाई सामूहिक रुपमा खोप लगाउने व्यवस्था मिलाइदिन उनीहरूले नगरपालिका र जिल्ला प्रशासन कार्यालयसमक्ष माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button