टंकिसिनुवारीबाट विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु
मोरङ । नेपाल विद्युत् प्राधिकरणले मोरङको टंकिसिनुवारीबाट विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु गरेको छ ।
प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो ।
प्लान्टबाट विद्युत् वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोलहरू उत्पादन हुने छन् । १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५ सय ८० थान रहेको छ ।
इन्जिनियरिङ सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालले शुक्रवार परीक्षण उत्पादनको निरीक्षण गरी नियमित रुपमा पूर्ण क्षमतामा पोल उत्पादन सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले पोल उत्पादन सुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने उल्लेख गर्नुभयो ।
आयोजना प्रमुख परमार धीरसेनका अनुसार कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथाकका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाइ हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको हो । उहाँले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्ण क्षमतामा चल्ने जानकारी दिनुभयो ।
प्लान्टबाट उत्पादित पोलहरू मुख्य रुपमा प्रदेश नं १ र र २ का जिल्लाहरूमा आपूर्ति गरिने छ ।








प्रतिक्रिया राख्नुहोस्