तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट गम्भीर घाइते हात्तीको उपचार जारी

बीरगंज । पथलैया–अम्लेखगञ्ज सडक खण्डमा गए राति ट्रकले ठक्करबाट गम्भीर घाइते भएको पर्सा राष्ट्रिय निकुञ्जको एक हात्तीको उपचार जारी रहेको छ । 

चितवन राष्ट्रिय निकुञ्जबाट आएका पशु चिकित्सकको निगरानीमा हात्तीको उपचार भई रहेको छ । 

गए राति पथलैयाबाट हेटौडातर्फ जाँदै गरेको ना५ख ३५५७ नम्बरको ट्रकले ठक्कर दिँदा ६५ वर्षीय मेनकाकली नामको हात्ती घाइते भएको थियो ।

हात्तीमा सवार माउते पवन सिंहको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको निकुञ्जले जनाएको छ । 

रेडिकलर जडान गरिएको बाघको नियमित अनुगमन गर्ने क्रममा दुई वटा हात्ती निकुञ्जको विस्तारित क्षेत्रमा पुगेर फर्कने क्रममा ट्रकले ठक्कर दिएको निकुञ्जले जनाएको छ । 

दुर्घटनापछि हात्ती करिब दुई घण्टापछि बल्लतल्ल उठेको र अहिले उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख मनोजित कुँवरले बताउनुभयो । 

हात्तीलाई ठक्कर दिने ट्रक चालक सञ्जीव लामा र ट्रक निकुञ्ज प्रशासनको नियन्त्रणमा रहेका छन् । 

मेनकाकली हात्तीको बाह्य चोटपटक देखिए पनि भित्री घाउ पत्ता लगाउन समस्या भएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button