झापामा द्वन्द्वमा मारिएका मानिस र हात्तीको सम्झनामा वृक्षारोपण

भद्रपुर, झापा । झापामा मानव र हात्तीबिचको द्वन्द्वमा मारिएका मानिस र हात्ती दुवैको सम्झनामा वृक्षारोपण गरिएको छ ।
विश्व हात्ती दिवसको अवसर पारेर बिहीबार झापामा जङ्गली हात्तीबाट सबैभन्दा बढी प्रभावित मेचीनगर–४ बाहुन डाँगीको मेची नदी किनारमा सिरिस, जडुललगायतका फूल फुल्ने प्रजातिका बिरुवा रोपण गरिएको हो ।एलिफेन्ट रेस्पोन्स टिमको आयोजनामा स्थानीयवासी, सङ्घसंस्था, होटेल व्यवसायीसमेतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
हात्तीको आक्रमणबाट नेपालमै सबैभन्दा बढी मानवीय क्षति भएको स्थान बाहुन डाँगी नै हो । यही कारण कार्यक्रम स्थलको रुपमा बाहुन डाँगीलाई रोजिएको हात्ती संरक्षण अभियानमा जुटेका शङ्कर लुइँटेलले बताउनुभयो । हालसम्ममा बाहुन डाँगीमा मात्र हात्तीको आक्रमणबाट ५० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ भने एक दर्जन हात्ती पनि मारिएका छन् ।
कार्यक्रममा हात्तीको महत्त्व, यसको जैविक विविधतामा भूमिका, आक्रमणबाट बच्ने उपाय र हात्ती संरक्षणमा स्थानीयको दायित्व विषयमा समेत जानकारी गराइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्