तपाईँ सुन्दै हुनुहुन्छः

महिला जनप्रतिनिधिहरूका नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम

कञ्चनपुर । कञ्चनपुरमा दुई स्थानीय तहका महिला जनप्रतिनिधिहरूका नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

मानव अधिकारको लागि महिला एकल महिला समूह कञ्चनपुरले नेपालमा सीमान्तकृत महिलाको आवाज र सहभागिता परियोजना अन्तर्गत शुक्लाफाँटा नगरपालिका र बेलडाडी गाउँपालिकाका महिला जनप्रतिनिधिहरूका लागि तीन दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले तालिम उद्घाटन गरेका छन् । 

उहाँले तीन तहका सरकार मध्ये स्थानीय तह सशक्त भएको उल्लेख गर्दै निर्वाचित महिला जनप्रतिनिधिहरूको भूमिका परिभाषित गरी सशक्त बनाएकाले तालिमले आफ्नो भूमिका महत्त्वपूर्ण बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री मान बहादुर सुनारले सीमान्तकृत महिलाका लागि एकल महिला समूहले उल्लेखनीय काम गरेको उल्लेख गर्दै मन्त्रालयले पनि एकल महिला, दलित महिला, अपाङ्गता भएका महिलाका लागि कार्यक्रमको कार्यविधि बनाउन थालिएको बताउनुभयो ।

प्रदेश सरकारका पूर्व उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले महिलाहरूको सहभागिता सुनिश्चित गरेकाले एकल महिलाको सामुदायिक भवन निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिका सभापति कुन्ती जोशीले तालिमबाट महिला नेतृत्वलाई कमजोर ठान्ने प्रवृत्तिलाई चुनौती दिएको बताउनुभयो  । 

तालिममा नेतृत्व र नेतृत्वको प्रकार, नेतृत्व गर्ने तरिका तथा नेतृत्वका गुणहरू, स्थानीय तहमा योजना तर्जुमा र यसका सात चरणहरू, लैङ्गिक उत्तरदायी बजेट, पैरवी/जनवकालत र यसका चरणहरू, वक्तृत्वकला तथा राम्रो वक्ता बन्ने तरिका, न्यायिक समितिको काम कर्तव्य र अधिकार क्षेत्र, मेलमिलाप र यसको प्रक्रिया, न्यायिक समितिको न्याय सम्पादन प्रक्रिया, सञ्चार सीप र प्रभावकारी सञ्चार तथा लिङ्ग, लैङ्गिकता र महिला हिंसासँग सम्बन्धित कानुनी व्यवस्था लगायतका विषय समावेश गरिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button