वीरगंजमा सडकमै सवारी पार्किङ, सवारी आवागमनमा समस्या

वीरगंज । पछिल्लो समय मुलुकको आर्थिक केन्द्र वीरगंजका मुख्य बजार क्षेत्रको सडकमै सवारी साधनहरू पार्किङ गर्दा सवारी आवागमनमा समस्या भएको छ ।
वीरगंजको पुरानो बसपार्क, नयाँ बसपार्क, मालपोतको पार्किङ स्थल, घण्टाघरस्थित बिपी उद्यानमा निर्मित पार्किङ स्थल गरी चार वटा पार्किङ स्थल हुँदाहुँदै पनि विशेष गरी सडकमै सवारी साधन पार्क गर्दा घण्टाघर देखि लिंक रोड हुँदै बस पार्क तथा नारायणी अस्पतालबाट बिर्ता हुँदै आदर्शनगर, माईस्थान घण्टाघर सम्मको सडक समेत साँघुरो रहेको र सो सडकमा सवारी सञ्चालनमा समस्या भएको छ ।
वीरगंज रजत जयन्ती चोकदेखि नयाँ बसपार्क चोक,प्रतिमा चोक,गण्डक चोक सम्म,बाईपास सडकमा र ४० फिटे सडक खण्डमा पिकअप भ्यान, ट्र्याक्टर, ट्रक र बसलगायत सवारी साधन जथाभाबी पार्क गरिन्छ भने वीरगंजको घण्टाघर, माईस्थान, आदर्शनगर, मकालु चोक, बिर्ता चोक क्षेत्रलगायतमा पनि हलुका सवारी सधान पार्किङ गरिँदै आएको छ ।
महानगरपालिकाले पार्किङ स्थलको व्यवस्था गरेको भए पनि त्यस क्षेत्रमा खासै सवारी साधन पार्किङ नहुने गरेको महानगरपालिकाले जनाएको छ ।
२०७६ असोज ८ बाट ५ सालको लागि नयाँ बसपार्कको ठेक्का साढे ७ करोडमा लागेको छ । तर सबै सार्वजनिक बस लगायतका सवारी साधनहरू सडकमै पार्किङ गर्ने भएकोले दुई वर्षदेखि कोरोनाले सताइरहेको र वर्षेनी करिब १ करोड १४ लाख घाटा लागेको बस पार्क ठेक्का लिएको कम्पनी एनके इन्टरनेशनल कन्स्ट्रक्सन प्रालिले जनाएको छ ।
घण्टाघर क्षेत्रमा पनि पार्किङ स्थल हुँदा हुँदै लालबंगलामा र बिपी उद्यानको अगाडि सडकमै तीन पाङग्रे र म्याजिक भ्यान पार्क गरी सडक जाम गर्ने गरेका छन् ।
यस विषयमा जिल्ला ट्राफिक कार्यालय पर्साका सई दीपेन्द्र साहले सार्वजनिक सडकमा जथाभाबी गाडी पार्क गर्नेलाई कारबाही गर्ने बताउनु भयो ।
उहाँले कोरोना महामारीमा गाडी बन्द हुँदा कमै गाडी पार्क हुने गरेको थियो, तर अहिले आवागमन बढेपछि केही चुनौती थपिएको र जथाभाबी र नियम विपरीत सवारी पार्क गर्ने गाडीलाई लक लगाएर जरिवाना तिराउने काम भइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्