सिलिगुडीको अस्पतालमा बन्धक बनेका झापाका शिशुको उद्धार
भद्रपुर, झापा । उपचार खर्च तिर्न नसक्दा भारतीय एक अस्पतालमा बन्धक बनेका झापाको मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ ।
आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो ।
शिशुको अवस्था बुझ्न गएका झापाका अग्रज पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेपछि हस्पिटलले सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको थियो ।
अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतबार राति नै थप उपचारका लागि बिर्तामोडको बीएन्डसी हस्पिटलमा भर्ना गरिएको पत्रकार काजीले बताउनुभयो ।
बिर्तामोडका केही निजी हस्पिटलले बच्चालाई राख्ने आइसियु कक्ष नभएको भन्दै शिशुलाई फर्काइदिएपछि बीएन्डसी हस्पिटल लगिएको थियो ।
सिलिगुडीको हस्पिटलले उपचारमा लागेको रु. ६ लाख ८ सय भुक्तानी नगरेसम्म बच्चा लैजान नदिने भन्दै शिशुलाई बन्धक बनाउँदै आएको थियो ।
हस्पिटलले उपचारमा रु. ४ लाख ६८ हजार र औषधितर्फ रु. १ लाख ३२ हजार ८ सय बिल देखाएको छ ।
शिशुकी आमा शर्मिला चौधरीले पारामाउन्ट हस्पिटलमा अहिलेसम्म रु. २ लाख ८८ हजार बुझाइसकेको बताइन् ।
अब सो हस्पिटललाई रु. तीन लाख १२ हजार बुझाउन बाँकी छ ।








प्रतिक्रिया राख्नुहोस्