त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

बीरगंज । बीरगंज पथलैया त्रिभुवन राजपथ तथा पूर्वपश्चिम राजमार्गको रौतहटको बागमती पुलदेखि चितवनको भरतपुर सम्मको सडकको मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
बीरगंज पथलैया त्रिभुवन राजपथलाई व्यापारिक मार्ग आयोजना अन्तरगत ६ लेनको सडक विस्तार गर्ने क्रम विगत ५ वर्षदेखि जारी रहेको भए पनि सडक निर्माण कार्यले गति नलिँदा समस्या भएको हो ।
विशेष गरी भारतको रक्सौलबाट वीरगंज भित्रिने मुख्य नाका शङ्कराचार्य गेटदेखि रजगत जयन्ती चोक सम्मको त्रिभुवनराजपथको सडक खण्ड खाडलै खाडलले भरिएको छ भने पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा भएका खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको चालकहरू बताउँछन् ।
दैनिक हजारौँ सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरूप बन्दा पनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् ।
राजमार्गका ठाउँ ठाउँमा गरिएको कालोपत्रे अघिल्लो वर्षको असार–साउनको अविरल वर्षाका कारण भत्केको झन्डै एक वर्षभन्दा बढी समय बिते पनि टालटुलसमेत हुन सकेको छैन ।
विशेष गरी रौतहटको बागमती पुलदेखि पश्चिम निजगढ हुँदै पथलैया, अमलेखगन्ज, रातामाटे हेटौँडा हुँदै मनहरी, लोथर, भण्डारा, रत्ननगर, भारतपुरसम्मको सडकमा रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको छ ।
एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्न चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको छ भने राजमार्गमा रहेका खाल्डाखुल्डीलाई समयमै मर्मत सम्भार नगर्दा दिनप्रति दिन खाल्डाखुल्डी वर्षाको कारण ठूलो बन्दै गएको सवारी चालकहरूले बताउँछन् ।
सडक डिभिजन कार्यालय पथलैया तथा हेटौँडाको लापरबाहीको कारण समस्या बढ्दै गएको छ ।








प्रतिक्रिया राख्नुहोस्