धाइरिङ गाउँका किसान बिउ उत्पादनमा आकर्षित
पर्वत । पर्वतको धाइरिङ गाउँका किसान पछिल्लो समय विभिन्न तरकारीको बिउ उत्पादनमा आकर्षित भएका छन् । यहाँका अधिकांश किसानहरूले बिउ उत्पादन गर्ने र बिक्री वितरण गर्ने आफ्नो पेसा नै बनाउन थालेका छन् ।
जलजला गाउँपालिका ७ धाईरिङका किसानहरूले विगत केही वर्ष देखि बीउको उत्पादन गर्न सुरु गरेका हुन् । कृषक नारायण पौडेल, विष्णु आचार्य, भूमि सुवेदी लगायतका किसानहरू तरकारी सँगै तरकारीको बीउ उत्पादनमा लागेका हुन् ।
धाइरिङको सल्यान गाउँमा करिब ९० घर रहेका छन् । ती हरेक घरले काँक्रो र टमाटरको बिउ उत्पादनलाई मुख्य प्राथमिकतामा राखेका छन् । गाउँमा बनाइएका तीन वटा कृषि समूहमा आबद्ध रहेका कृषकहरूले टमाटर र काँक्रोको बिउ काठमाडौँसम्म निर्यात गर्दै आएका किसान भूमि सुवेदीले जानकारी दिनुभयो ।
वर्षभरि खाने अन्न भएकाले त्यहाँको खेतमा धान त लगाइन्छ, तर धानको भन्दा पनि फाइदा बिउ उत्पादनमा छ । स्थानीय झलकनाथ पौडेलका अनुसार तरकारी भन्दा बीउमा बढी आम्दानी हुने गरेको छ ।
किसान झलकनाथले बनाएको एउटा टनेलमा एक लटमा तीन क्विन्टलसम्म फल्छ । उहाँले वर्षमा ६० क्विन्टल त टमाटर मात्रै बेच्नुहुन्छ । एउटै टमाटरको बिरुवामा १० किलोसम्म फल्ने र आफूले फरक–फरक जातका टमाटर फरक फरक ठाउँमा लगाएकाले बजारको माग अनुसार सधैँ उत्पादन दिन सकेको उहाँले बताउनुभयो ।
गाउँलेहरूका अनुसार गत वर्ष मात्रै सल्यानबाट ३० क्विन्टल टमाटरको र ६० क्विन्टल काँक्रोको बिउ विभिन्न ठाउँमा निर्यात भएको थियो ।
गत वर्ष देशैभर उत्पादन राम्रो भएका कारण बिउमा प्रतिस्पर्धा हुँदा कम पैसा परे पनि यस वर्ष धेरै वर्षाका कारण बिउको मूल्य ह्वात्तै बढ्ने उनीहरूको अपेक्षा छ । यो वर्ष टमाटरको बिउको प्रतिकिलो मूल्य तीन हजार र काँक्राको बिउको दुई हजार रुपैयाँ हुने भनी खबर आउँदा कृषकहरू मख्ख छन् ।
यस हिसाबअनुसार ३०० किलो टमाटरको बिउको मूल्य नौ लाख र ६०० किलो काँक्राको बिउको मूल्य १२ लाख रुपैयाँ पर्न आउँछ । केही न केही परिमाणमा बिउ उत्पादन नगर्ने घर नभएको सोही ठाउँकी इन्दिरा पौडेलले बताउनुभयो ।
जलजला कृषि उत्पादनका हिसाबले उर्वर भूमि रहेकाले व्यावसायिक कृषिका लागि गाउँपालिकाको तर्फबाट ठाउँ र आवश्यकता अनुसार कृषकहरूलाई सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्