तपाईँ सुन्दै हुनुहुन्छः

बस्ती छिर्दै चितुवा : नियन्त्रणका लागि उपकरण र जनशक्तिको समस्या

गण्डकी । दुई तीनदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ स्थित नागडाँडामा चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण त्रसित थिए । दुई दिनको अन्तरालमा पटक पटक गाउँका विभिन्न स्थानमा देखिएको चितुवा अन्ततः जिल्ला वन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा नियन्त्रणमा लिएर आज डिभिजन वन कार्यालय पु¥याइएको छ ।


तीन दिनयता अन्नपूर्ण–३ पाउँदुर क्षेत्रमा देखिएको चितुवा स्थानीयवासीले पटक पटक लखेटे पनि आज सोही स्थानकै पोखरा–बागलुङ राजमार्गमा पुनःभेटिएपछि प्रहरी तथा डिभिजन वन कार्यालयमा खबर गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई वर्षअघि सोही गाउँपालिकाकै रयालेमा चितुवाले मानिसलाई आक्रमण गरेको थियो । पछिल्ला वर्षमा कास्की, तनहुँ र आसपासका जिल्लामा चितुवा गाउँ बस्तीमा प्रवेश गर्ने र मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ । गत असारमा पोखरा महानगरपालिका–८ स्थित नागबेली टोलमा चितुवा छिरेपछि वन कार्यालयका प्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

गाउँमा चितुवा पसेपछि स्थानीयवासीले गुहार्ने निकाय भनेको डिभिजन वन कार्यालय भए पनि चितुवालगायत हिंस्रक वन्यजन्तु नियन्त्रणका लागि वन कार्यालयमा कुनै उपकरण र दक्ष जनशक्ति छैन । बस्ती पसेको चितुवा नियन्त्रणका लागि डार्टको आवश्यकता पर्दछ । यो उपकरण डिभिजन वन कार्यालयमा उपलब्ध नभएको डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो उपकरण हाल चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र सदर चिडियाखानामा मात्रै छ । उपकरण मगाउनका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय जस्ता निकायको स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको जनाउँदै उहाँले हालसम्म कुनै पनि डिभिजन वन कार्यालयमा सो उपकरण उपलब्ध हुन नसकेको बताउनुभयो ।

“चितुवा बस्ती पसेपछि सुरुमा सर्वसाधारणले डिभिजन वन कार्यालयमा खबर गर्दछन्”, उहाँले भन्नुभयो, “खबर आइसकेपछि विना उपकरण तथा दक्ष जनशक्ति नहुँदा आफूलाई नै असुरक्षित बनाएर हामीले सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर उसको प्राकृतिक वासस्थानमा छाड्ने गरेका छौँ ।”

पछिल्ला वर्षमा चितुवा बस्तीमा पस्ने क्रम बढेपछि सो उपकरणको व्यवस्थाका लागि माग गरिँदै आए पनि त्यसको हालसम्म सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ । “हामी उपकरणको अभावमा असुरक्षित भएर पनि चितुवालाई नियन्त्रणमा लिई प्राकृतिक वासस्थानमा छाड्न बाध्य छौँ”, बरालले भन्नुभयो, “सुरक्षित तवरले नियन्त्रण गर्न तालिमका साथै उपकरणको तुरुन्त व्यवस्था गर्नुपर्ने देखिन्छ ।”

प्रदेश सरकारमार्फत बस्ती छिर्ने हिंस्रक वन्यजन्तु नियन्त्रणका लागि तत्काल डिभिजन वन कार्यालयमा डार्टका साथै सुरक्षा उपकरण र त्यससम्बन्धी तालिम रेपिड रेस्पोन्स टोलीको व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

चितुवालाई पर्यावरण संरक्षणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । पछिल्ला वर्षमा नेपालका विभिन्न जिल्लामा चितुवाको सङ्ख्या बढ्दो क्रममा छ । यो बाघको प्रजाति हो । हाल विश्वका १४ मुलुकमा मात्रै बाघ पाइन्छ । पछिल्ला वर्षमा बाघ र मानवबिचको बढ्दो द्वन्द्व विश्वव्यापी चुनौतीका रुपमा देखिँदै आएको छ । बाघ संरक्षण र द्वन्द्व न्यूनीकरणमा काम गर्न नेपाल सरकारले अघिल्लो वर्ष ‘बाघ संरक्षण विशेष कार्यक्रम’ घोषणा गरेको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button