सांसद राजभण्डारीद्वारा बाढीपहिरो व्यवस्थापन समन्वय समितिलाई सहयोग

काठमाडौँ ।नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले काँग्रेसले गठन गरेको बाढी, पहिरो व्यवस्थापन समन्वय समितिलाई आर्थिक सहयोग गर्नुभएको छ ।
देशका विभिन्न भागमा गएको विनाशकारी बाढीपहिरोका कारण पुगेको जनधनको ठूलो क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरापीडितलाई राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले निर्माण गरिएको समितिलाई सांसद राजभण्डारीले बिहीबार रु एक लाख एक हजार आर्थिक सहयोग गर्नुभएको हो ।
उक्त समितिको सहसंयोजक समेत रहनुभएका सांसद राजभण्डारीले समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । देशभर बाढीपहिरोले क्षति पु¥याएपछि काँग्रेसले केन्द्रीय सदस्य बस्नेतको संयोजकत्वमा ११ सदस्यीय समिति निर्माण गरेको थियो । उक्त समितिको सहसंयोजकमा राजभण्डारी, सचिवमा कांग्रेस केन्द्रीय सदस्य किरण गिरी, कोषाध्यक्षमा केन्द्रीय सदस्य कल्पना चौधरी रहनुभएको छ ।
यस्तै सदस्यमा कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर गुरुङ, प्रतिनिधिसभा सदस्य रामबहादुर विष्ट, पूर्व सांसद बहादुरसिंह थापा, संविधानसभा सदस्य राजीवविक्रम शाह, तीर्थबहादुर लामा, महासमिति सदस्य ललितजङ्ग शाही, देवराज चालिसे र नागिना यादव रहनुभएको छ । उक्त समन्वय समितिले बाढीपहिरोको क्षतिको आकलन गरी पीडितलाई राहत कार्यमा सहयोग पु¥याउनेछ ।रासस








प्रतिक्रिया राख्नुहोस्