कोरोना कहरमा भारतबाट फर्केका लोकेन्द्र बाख्रा पालनमा

अछाम। अछामको मङ्गलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउका लोकेन्द्र रावल कोरोना भाइरसको पहिलो लहरका कारण रोजगारी गुमाएर भारतबाट फर्किदा निकै निराश, हतास र अब के गरेर खाने भन्ने अन्यौलमा थिए ।
उमेरले २१ वर्षकाका लोकेन्द्र अहिले आफ्नै ठाउँमा बाख्रा पालन गरेर स्वरोजगार बनेका छन् । भारतबाट फर्केका युवा लोकेन्द्र आज भोलिका दिनमा बाख्रा पालनमा कस्सिएर लागेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण तथा जोखिमका कारण भारतबाट आफ्नो गाउँमा फर्किएपछि लोकेन्द्र बाख्रा पालनमा लागेका हुन ।
बुवा आमा, दाजु भाउजू, भाइबहिनी सहित ८ जनाको परिवार भएका लोकेन्द्रको अहिलेको रोजाई बाख्रा पालन नै भएको छ । गत असोज महिनामा नै बाख्रा पालन सुरु गरेका लोकेन्द्रले खोर व्यवस्थापन र बाख्रा पालन लागि बाख्रा खरिदमा सुरुमा नै करिब साढे ६ लाख खर्च गरेका थिए । आफुु सँग पैसा नभए पनि जग्गा धितो राखेर बैङ्क मार्फत ऋण गरेर १ लाख ३० हजारको खोर व्यवस्थापन पहिलो र दोस्रो चरणमा ४ लाख ३० हजार लगानी गरेर ६४ बाख्रा किनेर व्यवसाय थालेका छन् । हाल उहाँले २२ वटा बाख्रा बेचेर १ लाख ७० हजार रुपैयाँ जम्मा गरेको बताउनु भयो ।
आफ्नो १० रोपनी र आफन्तजनको ७० रोपनी बाँझो जग्गा भाडामा लिएर करिब ८० रोपनी जग्गामा बाख्रा पालन मात्र नभई कृषि तरकारी फलफूलमा सुन्तला, कागती, ओखर रोप्ने काम भएको रावलले बताउनु भयो । बाख्रा पालनमा आफू लागि रहँदा बुवा आमाको समेत निकै सहयोग गरेको उनको भनाई रहेको छ । आफ्नो जग्गा धेरै मात्रामा लेकतिर नभए पनि बुवा आमाले लामो समयदेखि भाडा तिरेर गरिरहेको कृषि पेसा गरिरहनु भएको थियो अहिले त्यसैलाई सदुपयोग गरेर आफूले व्यवसाय थालेको उनको भनाई रहेको छ ।
“२०७७/०७८ को बजेट ल्याउँदा कोरोनाबाट प्रभावित युवालाई स्वरोजगार बनाउने बजेट ल्याउँछु नीति तथा कार्यक्रम बनाउँछु सरकारका प्रमुखले भनेका थिए तर आफूलाई त्यसले कत्ति पनि छोएको छैन ।” लोकेन्द्रले भन्नुभयो ।
आधिकारिक रुपमा धुम्रलोचनी बाख्रा पालन फर्म दर्ता नै गरिसकेका छन् । “अनुदानका लागी नगरपालिका, कृषि शाखा पशु शाखा कति धाए कहीँ कतैबाट सहयोग प्राप्त भएको छैन, मैले सहयोग नपाए पनि दुखी त छैन तर सरकारले हेरेको छैन यो वर्ष के गर्छन् खै ?” लोकेन्द्रले भने – “भारतबाट यसरी प्रभावित भएर आफू घर आइसकेपछि अब भारत नजाने निधो गरेको गर्दै बाख्रा पालनलाई दिगो बनाउँदै लैजाने मेरो दृढता छ ।”
कृषि प्रधान देशमा सरकारको लगानी आवश्यक रहेको भन्दै वास्तविक किसानको बारीमा पुगेर मात्र आगामी दिनमा अनुदानका कार्यक्रम तय गर्न उहाँको सुझाव रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्