तपाईँ सुन्दै हुनुहुन्छः

१ अर्ब लागतको धौलिगाड खानेपानी आयोजना १२ वर्षपछि निर्माण हुँदै

धौलीगाड आयोजनाबारे छलफलमा सहभागी सरोकारवाला, तस्बिरः सागर परियार ।

जुम्ला । कर्णालीकै ठुलो तथा राष्ट्रिय गौरव तथा महत्त्वको धौलिगाड खानेपानी आयोजना डेढ दशकपछि अघि बढेको छ । लामो प्रयासपछि विद्युतीय खरिद प्रणाली मार्फत टेण्डर भएपछि आयोजना निर्माणको प्रक्रिया अघि बढेको हो ।  

जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिका, तातोपानी र गुठिचौर गाउँपालिकाको रोहवरमा टेण्डर आह्वान गरी निमार्ण काम अघि बढेको सङ्घीय खानेपानी आयोजनाको कार्यालयले जानकारी दिएको छ ।

आयोजना प्रमुख महेश न्यौपानेका अनुसार १ अर्ब २६ करोड ८ लाख ४ सय रुपैयाँ लागतको बहुवर्षीय आयोजनाको पहिलो चरणको टेण्डर भएपछि आयोजनाले मूर्त रूप लिएको हो । जुम्ला सदरमुकामको उत्तरमा अस्थित उक्त आयोजना निर्माणको दुरी करिब २ सय किलो मिटर रहेको छ ।

उक्त आयोजनाबाट तीन स्थानीय तहका ९ हजार १ सय घरधुरीका करिब ४४ हजार १ सय ६३ जना नागरिक लाभान्वित हुने भएका छन् । आयोजना अन्तर्गत तीन स्थानीय तहमा ३ हजार ३ सय बढी धारा निर्माण गरिने भएका छन् । खानेपानीको अभाव झेलिरहेका जुम्लाका दुर्गम गाउँबस्तिले आयोजनाबाट राहत पाउने आशा गरिएको छ ।

करिब १२ बर्ष पछि धौलिगाड खानेपानी आयोजना टेण्डरमा गएपछि जुम्ली नागरिक खुसी भएका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले भन्नुभयो,“जुम्ली जनताको ठुलो सपना धौलीगाड खानेपानी आयोजना टेण्डरमा गएको छ । तीन स्थानीय तहले लगानी गरेपछि आयोजनाले मूर्त रूप लिएको छ । अब आयोजनाले गति लिने छ ।”

स्थानीय तहको साढे १ करोड लगानी

आयोजना निर्माणका लागि कुल लागतको १ प्रतिशत रकम स्थानीय तहले लगानी गर्नु पर्ने व्यवस्था छ । जस अनुसार एक प्रतिशत श्रमदानका लागि लाभान्वित तीन वटा स्थानीयले १ करोड ४६ लाख लगानी गरेको जिसस उपप्रमुख बुढाले बताउनुभयो । 

स्थानीय तहले आयोजनाको खातामा अग्रिम नगद जम्मा गरेपछि आयोजना अघि बढेको हो । जसमा, चन्दननाथ नगरपालिकाले ५० लाख, तातोपानी गाउँपालिकाले ५० लाख र गुठिचौर गाउँपालिकाले ४६ लाख बजेट पहिलै बैङ्क धरौटी राखेका छन् । 

यसै गरी, तीन वटै स्थानीय सङ्घीय सरकार सँग त्रिपक्षीय सम्झौता गरेर स्थानीय स्तरमा आवश्यक अपनत्व लिएका छन् । यस्तै विभिन्न बाधा अड्चनका बीच राष्ट्रिय योजना आयोगले फाइल अगाडि बढाएपछि निर्माण कार्यअघि बढेको हो । बृहत् खानेपानी आयोजनाको शुरुवात २०६४ साल देखिनै पूर्व मन्त्री सांसद नरेश भण्डारीले गरेका थिए ।

२०६६ सालमा स्थानीय राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समितिले आयोजनाको केही काम शुरु गरे पनि पूर्णता हुन सकेँ । मन्त्री भण्डारीले आयोजना टेण्डर प्रक्रियामा गएपछि कर्णाली प्रतिष्ठान पछिको ठुलो गौरवको परियोजना धौलिगाड भएको र अव धौलीघाट वोर्डमा परिणत हुने बताउनुभयो । 

विभिन्न कारणले झण्डै मरिसकेको आयोजनाले ओली सरकारको पालामा भने मूर्त रूप पाएको हो । आयोजनाको पहल गर्न मन्त्री भण्डारी सँगै पूर्वराज्यमन्त्री बलबहादुर महत, राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही लगायतका सरोकारवालाको पहल रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button