तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरका ६० वर्षका स्वास्थ्य स्वयंसेविकाको नगदसहित बिदाइ

चितवन । भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाइ नगदसहित बिदाइ गरेको छ । 


लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविका भएर महिला दिदीबहिनीको स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नगद ५० हजारसहित प्रमाण पत्र र खादाले सम्मान गरेको छ  ।


महानगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरू मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नगद सहित महानगरले सम्मान र बिदाइ गरेको हो ।


विगत ३५ वर्ष भन्दा बढी समयदेखि लगातार सेवामा रहेका स्वयंसेविकालाई नीति बनाएर नगदसहित सम्मान र बिदाइ गरिएको महानगर प्रमुख रेणु दाहालले बताउनुभयो ।


महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले निस्स्वार्थ भावले लामो समयसम्म काम गरेका स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नु आफैमा सार्थक कामको सुरुवात भएको बताउनुभयो  । 

स्वास्थ्य स्वयंसेविका सञ्जाल भरतपुर महानगर अध्यक्ष सुभद्रा श्रेष्ठले महानगरले आफूहरूका समस्या समाधानमा ध्यान दिएको र आगामी दिनमा पनि थप सहयोग हुने कुरामा आफूहरू धेरै आशावादी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button