नेपाल भारत बिचको विद्यमान रेल सम्झौतामा संशोधन
काठमाडौँ । नेपाल भारत बिचको विद्यमान रेल सम्झौतामा संशोधन भएको छ । शुक्रवार आयोजित भर्चुअल कार्यक्रमका बिच दुवै देशले संशोधनको समझदारी पत्र अर्थात् लेटर आफ एक्सचेन्ज आदान प्रदान गरेका छन् ।
संशोधनपछि नेपालले भारतको विभिन्न स्थानबाट नेपाली रेल नै प्रयोग गरी कार्गो ढुवानी गर्न पाउने छन् । त्यसै गरी भारतीय रेलले हाल एक स्थानमा मात्र ढुवानी गर्ने गरेकोमा विराटनगर लगायतका नेपालका विभिन्न स्टेसनहरू सम्म ढुवानी गर्न सक्ने भएका छन् ।
सम्झौताले नेपाली उद्योगले आयात गर्ने सामाग्री तथा ढुवानीको भुक्तानी लगायतका काममा सहज हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
सम्झौतामा मन्त्रालयका सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेलवे बोर्डका एडिसनल मेम्बर (ट्राफिक ट्रान्सपोर्टेसन) सुशान्त कुमार मिश्राले हस्ताक्षर गर्नुभएको छ ।
संशोधनमा तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतसँगको द्विपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गर्ने विभिन्न व्यवस्थाहरू गरिएका छन् ।
यसैगरी, नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे तथा नेपाली निजी रेल कम्पनीका रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कलकत्ता र हल्दियासम्म रेल सेवा दिन सक्ने गरी रेल सेवा सम्झौतामा संशोधन भएको वाणिज्य मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्