महिला भलिबल टिमको व्यवस्थापकमा केसी
काठमाडौँ । राष्ट्रिय महिला भलिबल टिमको व्यवस्थापकको जिम्मेवारी ज्योति केसीलाई दिइएको छ ।
नेपाल भलिबल सङ्घको शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले केसीलाई महिला टिमको व्यवस्थापकको जिम्मेवारी दिएको हो । केसी नेपाल भलिबल सङ्घकी केन्द्रिय सदस्य समेत हुन् । बैठकले उपाध्यक्ष निरोज मास्केले व्यवस्थापक पदबाट दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ जिम्मेवारी दिएको हो ।
घरायसी कारण उल्लेख गर्दै मास्केले व्यवस्थापकबाट राजीनामा दिएकी थिइन् । राष्ट्रिय महिला भलिबल टिमले अर्को महिना फिलिपिन्समा एसियन महिला भलिबल च्याम्पियनसिप खेल्दैछ । नेपालले एसियाली सिनियर महिला च्याम्पियनसिप पहिलो पटक खेल्न लागेको हो । प्रतियोगिताको तयारीका लागि महिला टिम बन्द प्रशिक्षणमा रहेको छ ।
शनिबार मात्र सचिव मानवीर छन्त्याल नेतृत्वको छनोट समितिले प्रारम्भिक ३० खेलाडीबाट ९ खेलाडीलाई बाहिर राख्दै १८ सदस्यीय खेलाडी छनोट गरेको छ । छन्त्याल नेतृत्वको ७ सदस्यीय समितिले केही दिनमा अन्तिम १४ सदस्यीय खेलाडी समेत छनोट गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्