बन्दिपुरमा पहिरोले २४ परिवार विस्थापित, १५५ घर जोखिममा

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकामा पहिरोका कारण सडक, विद्युत् र खानेपानीमा समस्या भएको छ ।
निरन्तर केहिदिन यता परिरहेको अविरल वर्षाका कारण बन्दिपुर गाउँपालिकाको प्राय सम्पुर्ण क्षेत्रमा क्षति पु¥याएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ बताउनुहुन्छ ।
गाउँपालिकाको माथिल्लो भेगमा ९ वटा विद्युतका पोल ढलेको उहाँले बताउनुभयो । ’बुधवार रातिदेखि बत्ती आएको छैन ।’ उपाध्यक्ष गुरुङले भन्नुभयो ’जेनरेटरबाट गाउँपालिकामा काम भएको छ तर भुक्तानीमा समस्या भएको छ ।’
गाउँपालिकाको माथिल्लो भेगका वडा २, ३, ५, ६ मा बिजुली बुधवारदेखि अवरुद्ध छ ।
गाउँपालिका भित्र विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध छ । डुम्रे–बन्दिपुर सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’बन्दिपुरको थानिमाया, मुचुक, बाख्रा फर्म क्षेत्रमा पहिरो खसेको छ ।’
बन्दिपुर–५ को कल्चोक, बाटेगाउँ, बन्दिपुर–१ को छाप, बन्दिपुर–२ को खहरे, बन्दिपुर–३ को तामुङ लगायत अन्यमा ठाउँमा समेत सडक अवरुद्ध भएको छ ।
गाउँपालिकाको तल्लो भेग डुम्रेको तल्लो भाग, ४ नम्बर वडाको ठाडेबासको खेत बगाएको उपाध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो ’खेतीपाती धेरै क्षति भएको छ, अहिले नै बकिन डाटा आइसकेको छैन ।’

बुधवारदेखि विद्युत् अवरुद्ध हुँदा बन्दिपुरका माथिल्लो भेगमा खानेपानीको समस्या देखिएको छ । मोटर लगाएर खानेपानी ल्याउने गरिएको ठाउँमा विद्युत् अवरुद्ध भएपछि खानेपानीको समस्या देखिएको गाउँपालिका उपाध्यक्ष गुरुङले बताउनुभयो ।
विद्युत् कार्यालयलाई खबर गरिएको तर सडकमा पहिरोले बाटो अवरुद्ध गर्दा आउन नसकेको उहाँले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालयलाई सडक खुलाउन सहयोग मागिएको समेत उहाँले जानकारी दिनुभयो । सडक सुचारु भएपछि विद्युत् मर्मतको काम हुने उहाँले बताउनुभयो ।
बन्दिपुर गाउँपालिका भित्रका १५५ घर जोखिममा रहेको गाउँपालिका उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । ’यो डाटा हिजो बिहीबारसम्मको हो ।’ उपाध्यक्ष गुरुङले भन्नुभयो ’हिजो टोल र वडा संग समन्वय गर्दा यति तथ्याङ्क पाइयो ।’

गाउँपालिका भित्र पहिरोले २४ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नजिकको विद्यालय र आमा समुहको भवनमा राखिएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’हामीले वडा र टोललाई जिम्मेवारी दिएका छौ ।’
’खाना र बस्ने व्यवस्थापन वडा र टोलले गरेको छ ।’ उपाध्यक्ष गुरुङले भन्नुभयो ’जति खर्च लागे पनि गाउँपालिकाले बेहोर्ने छ ।’
बिहीबार बन्दिपुर–३ तामुङका २ जना स्थानीय महिलाले पहिरोमा पुरिएर ज्यान गुमाए भने सोही स्थानका ३ जना घाइते छन् । उनीहरू पोखराको अस्पतालमा उपचाररत छन् ।








प्रतिक्रिया राख्नुहोस्