तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा अन्तर्राष्ट्रिय स्तरको कृषि थोक बजार निर्माण सुरु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा २८ करोड बढीको लागतमा अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको छ । बागमती प्रदेश अन्तर्गतको कृषि विकास निर्देशनालयको ७० र हेटौँडा उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजार निर्माण सुरु भएको हो । हेटौँडा–.११ थानाभ¥याङ स्थित २ विगाह ४ धुर क्षेत्रफलमा २८ करोड ३६ लाख ५५ हजार ९८३ रुपैंया लागतमा निर्माण हुन लागेको कृषि थोक बजारको शुक्रवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको हो । 

प्रादेशिक कृषि थोक बजारको शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री पौडेलले समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले ठेकेदारको कारण कुनै पनि काम समयमा सम्पन्न नहुनाले सबै दोष सरकारलाई आउने गरेको भन्दै समयमै काम सम्पन्न हुने गरी काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले तरकारी मात्र नभई उक्त कृषि थोक बजार मार्फत मेची देखि महाकाली सम्मका सम्पूर्ण कृषि उपजहरूको अर्डर प्लान्टको रुपमा स्थापित गराउने बताउनुभयो । 

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले राष्ट्रिय गौरवको आयोजना रहेकोले सम्पूर्ण नगरवासीहरुलाई एक भई निर्माण सम्पन्न गर्न आग्रह गर्नुभएको छ । परम्परागत कृषि प्रणालीलाई रूपान्तरण गरी आधुनिक र व्यावसायिक बनाउनको लागी कृषि थोक बजारको स्थापना गर्न लागिएको मन्त्री लामाले बताउनुभयो । 

अन्तर्राष्ट्रिय स्तरको आधुनिक थोक बजारमा हुने सबै किसिमका सुविधाहरू यस बजारमा रहने मन्त्री लामाले बताउनुभयो । थोक बजारको २०८१ जेष्ठ ८ गते भित्र निर्माण सम्पन्न गर्ने गरी कृषि विकास निर्देशनालय र ए एन के माउन्टेन जे.भी. कमलपोखरीबीच सम्झौता भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button