सरकार आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिवद्धः मन्त्री नेम्वाङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्त कुमार नेम्वाङ्ले मौजुदा मन्त्रिपरिषद्मा मन्त्रीहरूको सङ्ख्या सीमित भए पनि सरकार आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिबद्ध र सक्षम रहेको बताउनुभएको छ ।
मन्त्रालयको पदभार ग्रहणपछि आज आयोजित कार्यक्रममा मन्त्री नेम्वाङ्ले सर्वोच्चको आदेशपछि आवश्यकताको सिद्धान्त अनुरूप एकै मन्त्रीलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिनुपर्ने अवस्था सिर्जना भए पनि सरकारका नियमित काम कारबाहीमा बाधा नपर्ने बताउनुभयो ।
मन्त्री नेम्वाङ्ले देशमा शान्ति सुरक्षा कायम गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरण गर्ने, कोरोना महामारीबाट नागरिकलाई बचाउन खोपको प्रबन्ध गर्ने जस्ता अत्यावश्यक कामहरू प्रभावित नहुने बताउनुभयो ।
मन्त्री नेम्वाङले संसद् नरहेको अवस्थामा सरकारका दैनिक काम कारबाहीलाई सहज बनाउन अध्यादेश मार्फत आवश्यक कानुनहरू निर्माण गर्ने संवैधानिक प्रबन्ध रहेको हुनाले यसलाई अतिरञ्जित गरी सरकारको आलोचना नगर्न समेत आग्रह गर्नुभयो ।
यस अगाडि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी बहन गर्दै आउनुभएका मन्त्री नेम्वाङ्ले हिजोदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कृषि तथा पशुपछि विकास मन्त्रालय, खानेपानी मन्त्रालय तथा सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको पूर्वाधार तयार गर्ने लगायत सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिएका कार्यक्रम हरू अगाडि बढाउन मन्त्रालयले योजना अनुसार काम गरिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्