तपाईँ सुन्दै हुनुहुन्छः

सूर्यविनायकमा एक अर्ब ५७ करोड ६३ लाख बजेट विनियोजन

भक्तपुर। सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि कूल रु एक अर्ब ५७ करोड ६३ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/७९ को चालु तथा पूजीँगततर्फको बजेट सार्वजनिक गर्नुभएको हो । अघिल्लो आवको तुलनामा यो बजेट रु नौ करोडले बढी हो । नगरपालिकाले चालु आव २०७७/७८ मा रु एक अर्ब ४८ करोडको बजेट ल्याएको थियो ।

नगरपालिकाले आगामी आवका लागि कूल बजेटमध्ये चालुतर्फ शाखागत कार्यक्रम रु १८ करोड ८६ लाख ७६ हजार, सामाजिक सुरक्षा रु १४ करोड, वडागत चालु कार्यक्रम रु दुई करोड १५ लाख र नगरपालिका चालु १६ करोड २० लाख ८२ हजार गरी कूल रु ५१ करोड २२ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।

त्यस्तै पुँजीगत कार्यक्रमतर्फ रु ७३ करोड ९८ लाख ४७ हजार र सशर्त कार्यक्रमतर्फ रु ३२ करोड ४१ लाख ९५ हजार विनियोजन गरिएको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो । आगामी आवको खर्च बेहोर्ने स्रोतमध्ये नगरपालिकाले आन्तरिक राजश्व परिचालनबाट रु १८ करोड १८ लाख ९५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट २४ करोड, चालु आवकोे राजश्व बचतबाट रु २२ करोड ५६ लाख ८२ हजार, सङ्घ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु २३ करोड ४० लाख ८० हजार प्राप्त हुने अनुमान गरेको छ ।

सङ्घ तथा प्रदेशको राजश्व बाँडफाँट रु १३ करोड चार लाख ४८ हजार, सशर्त अनुदानबाट रु ३२ करोड ४१ लाख ९५ हजार, जिसस समपूरक कोषबाट रु दुई करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट रु १४ करोड प्रदेश समपूरक योजनाबाट रु तीन करोड र सडक बोर्ड तथा ससर्तका विविध कार्यक्रमबाट रु तीन÷तीन करोड प्राप्त हुने अनुमान नगरपालिकाले गरेको छ । नगर स्तरीय ठुला पूर्वाधार निर्माण आयोजनाका लागि रु ११ करोड ५० लाख, नगरपालिकाको प्रशासकीय भवन र मातहतका वडा कार्यालय भवन निर्माणका लागि रु छ करोड विनियोजन गरिएको छ ।

वडागत योजना कार्यान्वयन गर्न प्रत्येक वडाका लागि रु दुई करोड ५७ लाखका दरले कूल रु २५ करोड ५७ लाख, क्रमागत योजना सम्पन्न गर्न रु नौ करोड ८० लाख तथा अस्पताल पूर्वाधार निर्माण गर्न रु एक करोड बजेट विनियोजन गरेको छ ।

त्यसै गरी सङ्घ तथा प्रदेश र अन्य विकास साझेदारसँग साझेदारी गर्न समपूरक कोषमा रु आठ करोड विनियोजन गरिएको छ । पूर्वाधार विकासको आयोजनाहरूमा नगद लागत साझेदारीअन्तर्गत ६०–४० को आयोजनारुका लागि रु छ करोड बजेट विनियोजन गरेको र नगरवासीले स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार रु एक हजार अनुदान दिने व्यवस्था गरेको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो ।

नगरप्रमुख वासुदेव थापाले निर्वाचनको घोषणा पत्रमा उल्लेख भएका सबै प्रतिबद्धतालाई पूरा गरेको र जनअपेक्षा धेरै बढेकाले जनताको माग तथा आवश्यकताको पहिचान गर्दै यस वर्षको बजेट बनाएको बताउनुभयो । नगरपालिकाले प्रत्येक वडामा कम्युनिटी हल, इ–लाइब्रेरी, खेलमैदान, फुटसल, पौडी पोखरी, जिमहल निर्माण गरिने उहाँको भनाइ छ ।

नगरपालिको अहिलेसम्म ६७ किमी पक्की र ११ किमी कच्ची सडक निर्माण, १२ पुल निर्माण, १० खानेपानी आयोजना निर्माण, एक हजार ५०० सडक बत्ती जडान, ११ सिँचाइ कुलो निर्माण, पाँच पर्यटकीय स्थल र त्यहाँसम्म पुग्ने पहुँच मार्ग निर्माण, १७ हजार ५१७ घर नक्सा पास, ५३ कानुन निर्माण, न्यायिक समितिबाट १३३ विवाद निरुपण, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २०० जनालाई १०० दिन बराबरको रोजगारी, सात हजार ९०१ जनालाई राहत वितरण, १० सामुदायिक भवन र ३४ विद्यालय निर्माण, २५ मठमन्दिर निर्माण तथा जीर्णोद्धार, नौ वटा स्वास्थ्य केन्द्रको स्तरोन्नति, १६ हजार ८३७ नगरवासीको निःशुल्क पिसिआर परीक्षण, सरकारले तोकेबमोजिमको उमेर समूहका छ हजार १०० जनालाई कोभिसिल्ड तथा २१ हजारलाई भेरोसिल खोप लगाउने कार्य सम्पन्न भएको नगरप्रमुख थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button