सवारी दुर्घटनामा एघार महिनामा चितवनमा १ सय २० जनाको मृत्यु

चितवन । चालु आर्थिक वर्ष ०७७ , ०७८ को साउन महिनादेखि ज्येष्ठ मसान्तसम्म चितवनमा सडक दुर्घटनामा परेर १ सय २० जनाको मृत्यु भएको छ भने ६ सय ४६ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ११ महिनाको अवधिमा सबैभन्दा बढी मृत्यु चैत्र महिनामा भएको छ भने सबैभन्दा कम मृत्यु ज्येष्ठ र भाद्र महिनामा भएको छ ।
जसअनुसार चैत्र महिनामा २६ जनाको मृत्यु भएको थियो भने ज्येष्ठ र भाद्र महिनामा ३÷३ जनाको मृत्यु भएको थियो । भाद्र महिनामा सडक दुर्घटनामा ४६ जना घाइते भएका थिए ।
यस्तै सबैभन्दा बढी १०४ जना घाइते मङ्सिरमा महिनामा भएका थिए भने सबैभन्दा कम ३१ जना घाइते ज्येष्ठ महिनामा भएको कार्यालयले जानकारी दिएको छ । मङ्सिर महिनामा सवारी दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको थियो ।
यस्तै पौष महिनामा १५ जनाको मृत्यु, ६० जना घाइते,माघ महिनामा १४ जनाको मृत्यु ६४ घाइते, कात्तिक महिनामा ११ जनाको मृत्यु, ५६ जना घाइते भएका छन् ।
यसै गरी श्रावण महिनामा ८ जनाको मृत्यु, ३९ जना घाइते, असोज महिनामा ८ जनाको मृत्यु ,६२ जनाको घाइते , वैशाख महिनामा १२ जनाको मृत्यु,४५ जना घाइते र फागुन महिनामा ७ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख भगवानराज थापाले चैत्र महिनामा अप्रत्याशित रूपमा ठुला दुर्घटनाको सङ्ख्या बढी भएकोले यो महिनामा बढी मृत्यु भएको बताउनुभयो ।
‘विगत पाँच वर्ष अगाडिको ट्रेण्ड हेर्ने हो भने मङ्सिर महिनामा मृत्युको सङ्ख्या बढी थियो । थापाले भन्नुभयो, तर गत चैत्रमा भएको एउटै मात्र सवारी दुर्घटनामा ८ जनाको सम्म मृत्यु भएको छ ।’ भदौ महिना मा गतबर्षको लकडाउन खुकुलो हुँदै गएको र सम्भावित दुर्घटनालाई कम गर्न चेकजाँचमा थप कडाइ गरिएकोले यो महिनामा मृत्यु कम भएको हो ।
‘यो ज्येष्ठ महिना त पुरै निषेधाज्ञा जारी भयो, सवारी चाप नभएपछि मानवीय क्षति पनि कम हुने भो ।’ थापाले भन्नुभयो ।
प्राय मङ्सिर महिनामा बिहे व्रतबन्ध , र मौसम अनुकूल हुनुका साथै मानिसको चहलपहल बढी हुने गरेका कारण यो महिनामा घाइतेको सङ्ख्या पनि बढेको उहाँको भनाई छ । ‘मङ्सिर महिनामा मानिसको चहलपहल र सवारी चाप पनि बढ्यो । यो महिनामा भिजिबिलिटी कम देखिने रहेछ ।’ उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्