भोजपुर र सङ्खुवासभामा गरी तीन हजार बढीले लगाए भेरोसेल खोप
भोजपुर। कोरोना सङ्क्रमणको जोखिम बढी रहँदा पूर्वी पहाडी जिल्ला भोजपुर र सङ्खुवासभाका तीन हजार बढीलाई पहिलो चरणको भेरोसेल खोप दिइएको छ ।
भोजपुरमा दुई हजार १८ र सङ्खुवासभामा एक हजार २ सय ३६ जना गरी तीन हजार २ सय ५४ जनालाई कोरोना बिरुद्धको भेरोसेल खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएका छन् । भोजपुरमा रहेका २ नगरपालिका र ७ वटै गाउँपालिकामा भेरोसेल खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
सूचना अधिकारी बुढाथोकीका अनुसार भोजपुर नगरपालिकामा ४ सय ६८, षडानन्द नगरपालिका २ सय ५२, आमचोक गाउँपालिका २ सय २०, हतुवागढी गाउँपालिका १ सय ९६, रामप्रसाद राई गाउँपालिका १ सय ५६, टेम्केमैयुङ गाउँपालिका १ सय ९१, पौवादुङमा गाउँपालिका १ सय ८०, अरुण गाउँपालिका २ सय ५ र साल्पासिलिछो गाउँपालिकामा १ सय ५० जनालाई कोरोना बिरुद्धको भेरोसेल खोप लगाइएको हो ।
यस्तै सङ्खुवासभामा पनि १० वटा स्थानीय तह मध्ये ८ तहमा ३८ केन्द्र मार्फत खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी नगरपालिकामा ३ सय ५४ जना, चैनपुरमा २ सय ३८, मादीमा १ सय १० धर्मदेवीमा १ सय, पाँचखपनमा १ सय ६३, चिचिला गाउँपालिकामा ५७, सिलिचोङमा १ सय १५, सभापोखरीमा ९९ जनाले खोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार अन्तर्राष्ट्रिय सीमा नाका छुने पालिकाहरुमा १८ वर्षदेखि माथिकालाई खोप दिने भएकोले अन्तर्राष्ट्रिय सीमा नाका छोएका भोटखोला गाउँपालिका र मकालु गाउँपालिकामा अहिले खोपको उपलब्धता नभएको मकालु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विक्रम कुमालले जानकारी दिनुभयो । ती दुई पालिकामा भने खोप उपलब्ध हुन साथ १८ वर्षदेखि ६४ वर्षसम्मकालाई लगाइने छ ।
पहिलो चरणको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई लगाइएको छ । सङ्खुवासभा सङ्खुवासभा जिल्लामा दुई हजार २ सय डोज खोप उपलब्ध भएको थियो । जिल्लामा यसअघि ६५ वर्ष माथिका ७ हजार ३ सय ३ जनाले कोभिसिल्ड खोपको पहिलो डोज लगाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्