चितवनमा एक साता निषेधाज्ञा थप गरियो

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाको लागि असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । कोरोना संक्रमण र मृत्युदर घट्दै गए पनि जोखिम अझै पनि कायम रहेको भन्दै निषेधाज्ञा थप गरिएको हो । यसअघि थपिएको निषेधाज्ञा असार ३ गते राती १२ बजे सकिँदै थियो ।
निषेधाज्ञा एक्कासि खुकुलो गर्दा सङ्क्रमणको जोखिम बढ्ने भएकोले निषेधाज्ञा एक साता थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । यस पटक थप गरिएको निषेधाज्ञा केही खुकुलो गर्ने अपेक्षा गरिए पनि अघिल्लो आदेशलाई नै निरन्तरता दिइएको छ ।
जसअनुसार खाद्यान्न, तरकारी तथा फलफूल, दूध डेरी, माछा÷मासु विक्री गर्ने पसल, अण्डा, चल्ला, दाना, एग्रोभेट, खाना पकाउने ग्यास र निर्माण सामग्री बिक्री गर्ने पसलहरू दैनिक बिहान ६ देखि १० बजेसम्म मात्रै सञ्चालन हुन पाउने छन् ।
दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म पनि खुल्न पाउने आदेशमा जनाइएको छ । दोस्रो लहरमा जारी निषेधाज्ञा यो समेत गरी ६ पटक थपिएको हो ।








प्रतिक्रिया राख्नुहोस्