नेपाललाई विश्व बैङ्कले ७ अर्ब रुपैयाँ सहयोग गर्ने

काठमाडौँ । नेपाललाई विश्व बैङ्कले ७ अर्ब रुपैयाँ (६० मिलियन डलर) आर्थिक सहयोग गर्ने भएको छ । बैङ्कको बोर्ड अफ डाइरेक्टरको शुक्रवार बसेको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि सहयोग गर्ने निर्णय पारित गरेको हो ।
विश्व बैङ्कको उक्त सहयोग पिछडिएको क्षेत्रमा रहेका विद्यार्थीको उच्च शिक्षा र व्यावहारिक शिक्षामा खर्च गरिने छ । यस्तै प्राविधिक शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई पनि जोड दिइने विश्व बैङ्कले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, उक्त सहयोग रकम उच्च शिक्षा लिन नसक्ने र विपत्तिका कारण पढाइ प्रभावित भएका विद्यार्थीमा पनि लगानी गर्न सकिने विश्व बैकले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपाल, माल्दिभ्स र श्रीलङ्काका देशीय निर्देशक फरिस हदाद जार्भोसले विश्व बैङ्कको यो सहयोग उच्च शिक्षाबाट दक्ष जनशक्ति उत्पादनमा र कोरोना महामारीका कारण प्रभावित भएको शिक्षालाई निरन्तरता दिन उपयोग हुने उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्